जनकपुरधाम । नेपाली आतिथ्य क्षेत्रमा स्थापित ब्राण्ड होटल पौवाले आफ्नो १९औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ । मिथिला सभ्यता, संस्कृति र धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित जनकपुरधाममा स्थापना गरिएको होटलको औपचारिक उद्घाटन जेठ २२ गते गरिने भएको छ।
नयाँ शाखाको शुभारम्भसँगै होटलले तीनदिने ‘वृहत् खाना प्रवर्द्धन कार्यक्रम’ समेत आयोजना गर्ने जनाएको छ। कार्यक्रममा पौवाका विभिन्न शाखामा कार्यरत अनुभवी सेफहरूले तयार गरेका नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी रहनेछ।
होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण आर्थिक अवस्थाबीच पनि कम्पनीले देशभर सेवा विस्तारलाई निरन्तरता दिएको बताए । रुपन्देहीबाट सुरु भएको यात्राले जनकपुरधामसम्म आइपुग्दा पौवा राष्ट्रिय स्तरको नेपाली आतिथ्य ब्राण्डका रूपमा स्थापित भएको उनको भनाइ छ।
उनले संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्दै आएको उल्लेख गर्दै कर्मचारीलाई समेत लगानीकर्ता बन्ने अवसर प्रदान गरिएको बताए । साझा स्वामित्व र साझा सफलताको अवधारणालाई व्यवहारमा उतार्दै सामूहिक लगानी मोडललाई सफल बनाइएको उनले बताए ।
उपाध्यक्ष ध्रुवराज न्यौपानेले जनकपुरधाम धार्मिक तथा सांस्कृतिक दृष्टिले नेपालकै प्रमुख गन्तव्य भएकाले यहाँ पौवाको उपस्थितिले धार्मिक पर्यटन, आन्तरिक पर्यटन तथा आतिथ्य क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले नेपाली स्वाद, संस्कार र आतिथ्यतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित कम्पनी ‘मिसन १००’ अभियानअन्तर्गत देश तथा विदेशमा विस्तारको योजनामा रहेको बताए । तीव्र विस्तारका लागि सामूहिक लगानी मोडललाई थप प्रभावकारी बनाउँदै लगिने उनको भनाइ छ।
चारतारे स्तरमा सञ्चालनमा आएको जनकपुर शाखामा ६२ वटा सुविधासम्पन्न कोठा, स्विमिङ पुल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सेमिनार हल, रेस्टुरेन्ट, जिम, साउना, स्टिम तथा स्पा लगायतका पूर्वाधार उपलब्ध रहेका छन् । होटलले जनकपुरधामको पर्यटन तथा आतिथ्य क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।







