काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा चालु खर्चमा विनियोजन गरिएको छ। सरकारले १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् कुल बजेटको ५९.८ प्रतिशत चालु खर्चमा छुट्याएको छ।
त्यस्तै, विकास निर्माण तथा पूर्वाधार केन्द्रित पूँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात् २०.३ प्रतिशत बजेट विनियोजन गरिएको छ भने वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत बजेट छुट्याइएको छ।
सरकारले बजेट कार्यान्वयनका लागि राजस्वबाट १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ। त्यस्तै वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब तथा आन्तरिक ऋणबाट ४ खर्ब १९ अर्ब रुपैयाँ जुटाइने बताइएको छ।
बजेटको ठूलो हिस्सा चालु खर्चमै केन्द्रित हुँदा विकास खर्च अपेक्षाकृत कम रहेको भन्दै अर्थविद्हरूले चिन्ता व्यक्त गरेका छन्। अर्कोतर्फ राजस्व संकलन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा सरकार ऋणमार्फत बजेट धान्न बाध्य भएको विश्लेषण गरिएको छ।
सरकारले भने आर्थिक सुधार, पूर्वाधार विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर बजेट ल्याइएको दाबी गरेको छ।







