काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आयकरको न्यूनतम सीमा दोब्बर बनाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले वार्षिक ५ लाख रुपैयाँ रहेको न्यूनतम आयकर सीमा बढाएर १० लाख रुपैयाँ पुर्याइएको जानकारी दिए । अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुने व्यक्तिले केवल १ प्रतिशत कर तिरे पुग्नेछ।
यो व्यवस्थासँगै मासिक तलब खाने कर्मचारीलाई प्रत्यक्ष आर्थिक राहत पुग्ने भएको छ। नयाँ कर संरचनाअनुसार वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्ने व्यक्तिले अब वार्षिक १० हजार रुपैयाँ मात्रै कर तिर्नुपर्नेछ।
यसअघि सोही आम्दानीमा ६६ हजार रुपैयाँसम्म आयकर तिर्नुपर्ने व्यवस्था रहेको थियो । पुरानो व्यवस्थाअनुसार ६ लाखसम्म १ प्रतिशत, त्यसपछिको २ लाखमा १० प्रतिशत र थप २ लाखमा २० प्रतिशत कर लाग्ने व्यवस्था रहेकाले तलबजीवी वर्गमाथि करको भार बढी थियो।
सरकारको नयाँ निर्णयपछि वार्षिक १० लाख आम्दानी हुने व्यक्तिले करमा करिब ५६ हजार रुपैयाँसम्म राहत पाउने देखिएको छ। यसलाई मासिक हिसाब गर्दा करिब ५ हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ।
सरकारले व्यक्तिगत आयकरको अधिकतम दरमा पनि कटौती गरेको छ। हाल ३९ प्रतिशत रहेको अधिकतम करदर अब २९ प्रतिशतमा झारिने घोषणा गरिएको छ।







