September 20, 2026

१९ स्रष्टालाई प्रज्ञा पुरस्कार–२०८२ समर्पण

१९ स्रष्टालाई प्रज्ञा पुरस्कार–२०८२ समर्पण

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र समाजशास्त्र लगायतका विधामा योगदान पुर्‍याएका १९ जना स्रष्टालाई प्रज्ञा पुरस्कार–२०८२ समर्पण गरेको छ ।

वैशाख १७ गते बिहीबार आयोजित समारोहको प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा पुरस्कृत स्रष्टालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले पुष्पमालासहित सम्मान गरेका थिए ।

कार्यक्रममा जनही एक लाख रुपैयाँ राशिको प्रज्ञा पुरस्कार १२ जनालाई तथा ५० हजार रुपैयाँ राशिको प्रज्ञा प्रादेशिक पुरस्कार ७ जनालाई समर्पण गरिएको थियो । प्रज्ञा पुरस्कारअन्तर्गत समालोचनातर्फ प्रा‍.डा‍. अभि सुवेदी, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, गद्यसाहित्यतर्फ आहुति, भाषातर्फ प्रा‍. मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ प्रा.डा. सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत), मातृभाषा (हिमाली–पहाडी) तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेश–तराई) तर्फ अमरेन्द्रकुमार यादव सम्मानित भएका छन् ।

त्यसैगरी, पहिलोपटक स्थापना गरिएको प्रज्ञा प्रादेशिक पुरस्कार कोसी प्रदेशबाट मलिसा याक्थुम्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ), मधेस प्रदेशबाट मुना चौधरी, बागमती प्रदेशबाट शान्ति प्रिय बन्दना, गण्डकी प्रदेशबाट अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशबाट क्षितिज मगर, कर्णाली प्रदेशबाट रमानन्द आचार्य र सुदूरपश्चिम प्रदेशबाट कर्ण दयाल ‘सोडारी’लाई प्रदान गरिएको छ।

समारोहलाई सम्बोधन गर्दै कुलपति राईले विविध विधामा साधनारत स्रष्टाहरूलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताए । कार्यक्रममा नारदमणि हार्तमछालीले पुरस्कृत स्रष्टाहरूलाई बधाई ज्ञापन गरेका थिए ।

यस अवसरमा प्रा.डा. अभि सुवेदी, आहुति, डा. डम्बर चेम्जोङ र सुशीला प्रधानाङ्गले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सदस्य सचिव डा. धनप्रसाद सुवेदीले उद्घोषण गरेका थिए ।

सम्बन्धित खबरहरु