दोलखा । दोलखामा बनेको मुद्रा सङ्ग्रहालय औपचारिक रूपमा स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। भीमेश्वर नगरपालिका–२ मा निर्माण गरिएको सङ्ग्रहालय सञ्चालनमा आउने तयारीमा रहेको छ, जसले पर्यटन र सांस्कृतिक संरक्षणमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले निर्माण गरेका संरचना लामो समयसम्म प्रयोगमा आउन सकेको थिएन ।
सङ्ग्रहालय हस्तान्तरण कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले सङ्ग्रहालय राम्रोसँग सञ्चालन गर्न सकियो भने, मुद्रा सम्बन्धी अध्ययन र अनुसन्धान गर्नेहरूका लागि दोलखा आकर्षक गन्तव्य बन्न सक्ने बताएका छन् ।
त्यस्तै मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले सङ्ग्रहालय भविष्यमा पर्यटकहरूका लागि अध्ययन र अवलोकन गर्ने महत्वपूर्ण स्थान बन्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा आयोजना इकाई कार्यालय काठमाडौँका प्रमुख उत्तम चापागाईंले सङ्ग्रहालयले दोलखाको ऐतिहासिक र सांस्कृतिक पहिचान उजागर गर्न सहयोग पुग्ने बताए ।
सङ्ग्रहालय भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत र वडा नं. २ का अध्यक्ष स्टालिन श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । सङ्ग्रहालयको जिम्मेवारी लिदैँ नगर प्रमुख मानन्धरले यसको प्रभावकारी सञ्चालन गरेर पर्यटन विकासमा उपयोग गरिने बताएका छन् । सङ्ग्रहालयमा नेपालको पुराना मुद्रा, ऐतिहासिक सिक्का र आर्थिक इतिहाससँग सम्बन्धित सामग्री राखिने छ। यसले विद्यार्थी, अनुसन्धानकर्ता र पर्यटकलाई आकर्षित गर्ने विश्वास गरिएको छ।
मुद्रा सङ्ग्रहालयका कारण दोलखा भ्रमणको मुख्य आकर्षण बन्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। दोलखा नेपालमै पहिलो पटक चाँदीको सिक्का निकालिएको स्थानका रूपमा चिनिन्छ। त्यसैले यही ठाउँमा मुद्रा सङ्ग्रहालय बन्नु आफैंमा ऐतिहासिक महत्वको रहेको छ ।







