काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका उम्मेदवारलाई भोट नहाल्ने पार्टीका केन्द्रिय सदस्यहरुलाई कारबाही गर्ने बताएका छन् । विहीबार जनवर्गीय संगठनहरुका नेताहरुको बैठकलाई पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै केन्द्रीय तहका नेताहरूले समेत ‘घण्टी’ चुनाव चिह्नमा भोट हालेको रिपोर्ट आएको भन्दै त्यसमा संलग्नलाई कारबाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने बताएका हुन् ।
उनले यस्ता गतिविधिमा संलग्नहरूको पहिचान गरी कारबाही नगरे पार्टी सुदृढ हुन नसक्ने भन्दै ठोस प्रमाणसहित रिपोर्ट पेश गर्न निर्देशन दिएका छन् ।
प्रचण्डले अरबपति विनोद चौधरी र पुराना नेता नारायणमान विजुक्छेको उदाहरण प्रस्तुत गर्दै पैसा र प्रभाव मात्रले चुनाव जित्न नसकिने बताएका छन् ।
‘अब पार्टीलाई चुस्त, दुरुस्त र जनमुखी बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने साथै, नयाँ राजनीतिक परिवेशअनुसार संगठन पुनर्संरचना र रणनीति परिमार्जन गरिने उनको भनाइ छ ।







