काठमाडौं । वरिष्ठ आख्यानकार, कवि, साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ ‘सरित’द्वारा रचित बालकथा सङ्ग्रह ‘मेरी छोरी मान्या’ को विमोचन भएको छ । मण्डिखाटारस्थित राइजिङ स्टार आवासीय विद्यालयले आयोजना सङ्ग्रह विमोजन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कथाकार भागीरथी श्रेष्ठले कृतिको विमोचन गर्दै इन्द्रकुमार श्रेष्ठ ‘सरित’ एक समर्पित र उत्कृष्ट कथाकार भएको बताइन् । उनले बालमनोविज्ञानलाई आत्मसात् गरेर ‘सरित’ले रचेको ‘मेरी छोरी मान्या’ उत्कृष्ट बालकथा सङ्ग्रह भएको उल्लेख गर्दै ती कथाहरूले बालबालिकालाई जीवन र समाज बुझ्न सहज बनाएको बताइन् ।
विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमलाले ‘मेरी छोरी मान्या’ बालबालिकाको चेतनास्तर र मनोविज्ञानलाई आधार बनाएर लेखिएको कृति भएको बताए । उनले कृतिमा समाजको सौन्दर्य, गतिविधि र वातावरणलाई चित्रण गरिएको र कथाहरूले बालबालिकालाई उत्प्रेरित गर्ने क्षमता राख्ने बताए ।
साहित्यकार लक्ष्मी उप्रेतीले कथाकार ‘सरित’को लेखनमा बालमनोविज्ञान प्रभावकारी रूपमा अभिव्यक्त भएको बताइन् । साहित्यकार तथा समालोचक डा. छायादत्त न्यौपानेले उक्त कृतिले बालसाहित्य सिर्जनामा विद्यार्थीलाई प्रेरित गर्न सफल भएको चर्चा गर्दै कथाहरूले समाजमा रहेका विकृति र विसङ्गतिविरुद्ध चेतना जगाउने बताए ।
कृतिका सर्जक इन्द्रकुमार श्रेष्ठ ‘सरित’ले बालसाहित्य बालबालिकाको मनोविज्ञान र समकालीन समाजसँग जोडिएको हुनुपर्ने बताए । सामयिक घटना, पात्र र उद्देश्यलाई सन्तुलित रूपमा समेटेर लेखिएको बालसाहित्य नै समाजोपयोगी हुने उनको भनाइ थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा राइजिङ स्टार आवासीय विद्यालयका प्रधानाध्यापक कृष्णकुमार बहोराले विद्यार्थीलाई नियमित पठनपाठनसँगै सिर्जनात्मक गतिविधिमा सक्रिय बनाउन विद्यालयले यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए ।
कार्यक्रममा साहित्यकार श्रीराम क्षेत्री र डा. रचना नकर्मी लगायतले आ–आफ्नो धारणा राखे । साथै विद्यालयका विद्यार्थी उत्सान गिरी, स्मृति, प्रमिशा कँडेल र रिसिका गुरुङले कृतिमाथि समीक्षा प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन साम्राज्ञी दाहाल र सृष्टि अधिकारीले गरेका थिए ।







