काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२६ को फाइनलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको छ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेल भारतले न्युजिल्यान्डलाई २५६ रनको लक्ष्य दिएको थियो। विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा १५९ रनमा अलआउट भयो ।
भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो भने त्यसको १७ वर्षपछि गत संस्करणको २०२४ विश्वकप जितेको थियो । लगातार दोस्रो उपाधि जित्दै उपाधि रक्षा समेत गरेको हो ।
न्युजिल्यान्ड ५ वर्षपछि फाइनल खेल्दा फेरि उपविजेतामै सीमित भएको छ । यसअघि सन् २०२१ मा अस्ट्रेलियासँग फाइनलमा पराजित भएको थियो ।
न्युजिल्यान्डका लागि ओपनर टिम सेफर्टले सर्वाधिक ५२ रन बनाए । कप्तान मिचेल सान्टनरले ४३ रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन । डारिल मिचेलले १७ रन बनाउँदा बाँकी ब्याटर दोहोरो अंकमा जोड्न सकेनन् ।
भारतका जसप्रित बुमराहले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । अक्षर पटेलले ३ विकेट लिए । हार्दिक पान्ड्या, वरुण चक्रवर्ती र अभिषेक शर्माले १÷१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनाएको थियो । सन्जु सामसनले ४६ बलमा ५ चौका र ८ छक्कासहित सर्वाधिक ८९ रन बनाए ।
इशान किशनले २५ बलमा ५४ तथा अभिषेक शर्माले २१ बलमा ५२ रन बनाएर आउट भए । शिवम दुबेले ८ बलमा २६ रन बनाएका थिए ।
न्युजिल्यान्डका लागि जिमी नीशमले ३ विकेट लिँदा म्याट हेनरी र रचिन रविन्द्रले १÷१ विकेट लिए ।
भारतका लागि ५ खेल मात्र खेलेका सन्जु सामसन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । भारतका पछिल्ला तीन महत्त्वपूर्ण खेलमा शानदार प्रदर्शन गरेका उनले तीन अर्धशतकसहित ३२१ रन बनाए ।



