काठमाडौं । फिफा सहायक रेफ्री मरिना धिमाल सशस्त्र प्रहरी बलको हवल्दारमा पदोन्नति भएकी छन् ।
सुरक्षा सेवा र खेलकुदलाई एकैसाथ अगाडि बढाइरहेकी मेरिनाको पदोन्नतिलाई निरन्तर मेहनत,अनुशासन र व्यावसायिक सफलताको रुपमा लिइएको छ ।

मेरिनाले यो सफलता कुनै संयोग नभई वर्षौको संघर्ष र समर्पणको परिणाम भएको बताएकी छन् । ‘धेरैलाई यो अचानक जस्तो लाग्न सक्छ, तर यो मेरो लामो समयको त्याग, अनुशासन र कडा परिश्रमको नतिजा हो,’ उनले भनिन् । उनले सन् २०२४ देखि २०२६ सम्मको समयावधि खेल जीवन र व्यावसायिक करियरका लागि ‘स्वर्ण युग’ भएको बताइन् ।
उनले सन् २०२४ मा फिफा सहायक रेफ्रीको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाली फुटबललाई विश्वस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएकी छिन् । निरन्तर उत्कृष्ट प्रदर्शनका कारण उनी एसियाली फुटबलकै उच्च तह मानिने एएफसी एलाइट रेफ्रीको प्रतिष्ठित सूचीमा समेत समावेश हुन सफल भइन् ।

नेपाली फुटबल र सशस्त्र प्रहरी बल दुवै क्षेत्रमा मरिना धिमाल प्रेरणाको प्रतीक बनेकी छन्। उनको पदोन्नतिले खेल क्षेत्रमा आबद्ध अन्य सुरक्षाकर्मी लागि नयाँ उत्साह र आत्मविश्वास थप्ने विश्वास गरिएको छ।







