September 21, 2026

ओली र प्रचण्डबीच भेटवार्ता, गठबन्धन गर्ने छलफलमा पुराना दल

ओली र प्रचण्डबीच भेटवार्ता, गठबन्धन गर्ने छलफलमा पुराना दल

काठमाडौं । निर्वाचनको मिति नजिकिँदै जाँदा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू एकअर्कासँग नजिकिएका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि चौतर्फी आलोचनाको केन्द्रमा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्ला दिनमा निरन्तर संवादमा रहेका हुन्।

तीन नेताबीच पटक–पटक भेटवार्ता भइरहेको र आगामी निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने विषयमा छलफल चलिरहेको बुझिएको छ।

यसैक्रममा आइतबार बिहान एमाले अध्यक्ष ओली र प्रचण्डबीच ललितपुरको च्यासलमा भेटवार्ता भएको छ। भेटमा समसामयिक राजनीतिक अवस्था र आसन्न राष्ट्रिय सभा निर्वाचनका विषयमा केन्द्रित छलफल भएको जनाइएको छ। राष्ट्रिय सभा निर्वाचनमा एमाले र कांग्रेस मिलेर चुनावमा जाने सहमति भइसकेको र त्यसमा प्रचण्डले पनि सहकार्यको प्रस्ताव गरेपछि ओली–प्रचण्ड भेट भएको राजनीतिक स्रोतको भनाइ छ।

आज साँझ भारत प्रस्थान गर्नुअघि भएको यस भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीसँग काठमाडौं महानगर प्रमुख बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच देखिएको सहकार्यपछि पुराना दलहरूलाई पनि गठबन्धन गरेर चुनावमा जान दबाब बढेको राजनीतिक विश्लेषण गरिएको छ।

सम्बन्धित खबरहरु