काठमाडौं । वासुदेव लुइँटेल पुरस्कार २०८१ का लागि वरिष्ठ कार्टुन कलाकार अविन श्रेष्ठलाई सम्मानित गर्ने निर्णय गरिएको छ ।
कार्टुन कला अर्थात् व्यङ्ग्य चित्रकारितामा लामो समयदेखि विशिष्ट योगदान पुर्याउँदै आएका अविनलाई यो पुरस्कार प्रदान गरिने भएको हो । विगत २५ वर्षदेखि निरन्तर कार्टुन यात्रामा सक्रिय अविनका दुईवटा कार्टुन सङ्ग्रह प्रकाशित छन् । ‘बेस्ट अफ अविने १’ (२०६१) मा २०६२–२०६३ अघिका कार्टुनहरू समेटिएका छन् भने ‘बेस्ट अफ अविने २’ मा सो अवधिपछि प्रकाशित छानिएका कार्टुनहरू सङ्कलित छन् ।
२०५० को दशकदेखि सक्रिय अविनका कार्टुनहरू विभिन्न दैनिक, साप्ताहिक तथा अनलाइन पत्रपत्रिकामा नियमित प्रकाशित हुँदै आएका छन् । उनका व्यङ्ग्यात्मक कार्टुनहरूले समसामयिक राजनीतिक र सामाजिक विद्रुपतामाथि प्रहार गर्दै आएका छन् ।
नेपाली हास्यव्यङ्ग्यका भीष्म पितामह मानिने वासुदेव शर्मा लुइँटेलद्वारा २०५१ सालमा स्थापना गरिएको यो पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । साथै ताम्रपत्र र गुठीको प्रतिकचिन्ह समेत हस्तान्तरण गरिन्छ ।
हास्यव्यङ्ग्यको प्रवद्र्धनका लागि २०५१ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पछिल्ला वर्षमा हरेक दुई वर्षमा एक पटक प्रदान हुँदै आएको छ । हास्यव्यङ्ग्य लेखक, कार्टुन कलाकार र अभिनय कलाकारलाई यो पुरस्कार दिइँदै आएको छ ।
गुठीका सदस्यसचिव डा. विद्यादेव लुइँटेलद्वारा जारी विज्ञप्तिमा २०८१ को संस्करणका लागि अविन श्रेष्ठलाई चयन गरिएको उल्लेख छ । पुरस्कारका लागि निरन्तरता, जेष्ठता र योगदानलाई आधार बनाइने गरिएको छ । यो १९औँ संस्करण हो ।
यो पुरस्कार वासुदेव लुइँटेलको जन्मदिनको अवसरमा भाद्र २३ गते विशेष समारोह आयोजना गरी प्रदान गरिँदै आएको छ ।
यसअघि कार्टुन कलाकार बलराम थापा (बराथा), दुर्गा बराल (वात्सायन), मोहनसिह महर्जन (खोकना), टेकवीर मुखिया, रविन सायमी, शशी शाह लगायतलाई यो पुरस्कार दिइसकिएको छ । त्यस्तै हास्यकलाकारहरूमा गोपालराज मैनाली, राजपाल थापा, बसुन्धरा भुसाल, मह जोडी, सन्तोष पन्त, किरण केसी (राता मकै) तथा हास्यव्यङ्ग्य लेखकहरू केशवराज पिँडाली, श्रीधर खनाल, रामकुमार पाँडे, मोहनराज शर्मा (मोराश), चट्याङ मास्टरलगायतलाई पनि यस पुरस्कारले सम्मानित गरेको छ ।
२०७४ को संस्करण भने भैरव पुरस्कार गुठीलाई समर्पण गरिएको थियो ।







