काठमाडौँ । जनसार्क समन्वय मञ्च नेपालको नवौं वार्षिक साधारण सभा शनिबार राजधानी काठमाडौँमा सम्पन्न भयो । कार्यक्रम मञ्चका सभापति हरि बहादुर बिसीको सभापतित्वमा सम्पन्न भएको हो ।
महासचिव भरत ढकालले कार्यक्रम सञ्चालनको क्रममा स्वागत मन्तव्य दिंदै संस्थामा बौद्धिक वर्गको जमात भए पनि काममा कमी देखिएको गुनासो पोखे ।

सभापति बिसीले आगामी कार्ययोजना प्रस्तुत गर्दै सार्क राष्ट्रबीच मित्रता, सहकार्य र समझदारीलाई मजबुत बनाउन मञ्चले निरन्तर काम गरिरहेको बताए । उनले एक्लैले संस्था सञ्चालन गर्न नसकिने भन्दै सबैलाई सक्रिय हुन आग्रह गरे ।

त्यसैगरी, उपसभापति उमा तिमिल्सिना मरहट्ठाले संस्थामा केवल बौद्धिक जमघटले मात्र नभई मेहनतपूर्वक कार्य गर्नुपर्नेमा जोड दिइन् । उनले वर्षमा एकपटक मात्रै उत्सव मनाउने संस्कार तोड्नुपर्ने बताउँदै संस्थाप्रति बफादार भएर लाग्न सबैलाई आह्वान गरिन्।
सभामा संगठनका गतिविधि, आगामी योजना र क्षेत्रीय सहकार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत छलफल भयो । सहभागीहरूले सार्क राष्ट्रबीच जनस्तरमै मित्रता, सहकार्य र समझदारी बढाउन मञ्चको भूमिकाको प्रशंसा गर्दै यसको निरन्तरता र मजबुतीकरण आवश्यक रहेको धारणा राखे ।

त्यस्तै, पदाधिकारीहरूले संगठनलाई अझ सशक्त बनाउन र युवापुस्तालाई सक्रिय रूपमा जोड्नुपर्ने आवश्यकता औंल्याए । साथै, भविष्यमा जनस्तरको साझा हितलाई प्राथमिकतामा राखी विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
सभाले आन्तरिक संगठनात्मक सुदृढीकरण, सदस्य विस्तार, र क्षेत्रीय विषयमा जनस्तरको सहभागिता बढाउने निर्णय गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।







