September 19, 2026

सुलोचना मानन्धर र विजयरत्न असंवरे ‘कुमार साखः हपा: सिरपा’ पुरस्कारबाट सम्मानित

सुलोचना मानन्धर र विजयरत्न असंवरे ‘कुमार साखः हपा: सिरपा’ पुरस्कारबाट सम्मानित

भक्तपुर । नेपाली भाषा र साहित्यमा सक्रिय संस्था ‘नेपाल साहित्य मन्दिर’ भक्तपुरले सुलोचना मानन्धर र विजयरत्न असंवरेलाई साहित्यिक पुरस्कार प्रदान गरेको छ।

संस्थाले सुलोचना मानन्धरलाई “जरिमैयाँ साखः लुमन्ति सिरपा (स्मृति पुरस्कार)” र विजयरत्न असंवरेलाई “कुमार साखः हपा: सिरपा” पुरस्कार प्रदान गरेको हो। उक्त सम्मान समारोह भक्तपुरको दुधपाटीस्थित सिद्धपोखरी पार्टी प्यालेसमा सम्पन्न भएको थियो ।

नेपाल साहित्य मन्दिरका संस्थापक तिलकप्रकाश कायस्थले पुरस्कार वितरण गर्दै “जरिमैयाँ साखः स्मृति पुरस्कार” र “कुमार साखः प्रोत्साहन पुरस्कार” को औचित्यबारे चर्चा गरे। उनले यस्ता पुरस्कारले नयाँ स्रष्टा उत्पादनमा टेवा पुर्‍याएको धारणा राखे ।

कार्यक्रममा सभाध्यक्ष त्रैलोक्यमान बनेपाली ‘अगिब’ले संस्था र पुरस्कारद्वारा भाषा तथा साहित्यको विकासमा मार्गनिर्देशन हुने विश्वास व्यक्त गरे ।  उनले मातृभाषा समुदायको पुँजी भएकोले यसका संरक्षण र प्रवर्द्धनका लागि सामूहिक प्रयास आवश्यक भएको उल्लेख गरे । उनका अनुसार महिला कवयित्रीहरूको सक्रियता बढ्दै गएको सन्दर्भमा ‘जरिमैयाँ साखः’ पुरस्कार तिनीहरूको सिर्जनालाई उजागर गर्ने थलो बन्ने सम्भावना रहेको बताइएको छ ।

कार्यक्रममा नेपालभाषा एकेडेमीका सचिव महेन्द्रगोपाल कर्माचार्य, समाजसेवी कृष्णलाल प्रधानलगायतले विचार व्यक्त गरेका थिए ।

साहित्यिक प्रस्तुति अन्तर्गत प्रतिसरा सायमी, सुलोचना सैँजु, हिसिलिना शाक्य, रेजिना नक:मि मानन्धर, विनिता शाक्य, विना नेमकुल, मञ्जु श्रेष्ठ, दिव्या बज्राचार्य, विमला मानन्धर, मिलन शाक्य, पूर्णिमा शाक्य, रिता महर्जन र मिमिला शर्माले कविता वाचन गरेका थिए । कार्यक्रममा गुहेश्वरी शाक्यले स्वागत गीत प्रस्तुत गरेकी थिइन् ।

नेपाल साहित्य मन्दिरका सचिव हरिशरण शर्मा राजोपाध्यायले कार्यक्रम सञ्चालन गरेका थिए भने सदस्य रामनारायण प्रजापतिले स्वागत मन्तव्य र उत्तमनारायण मल्लले कृतज्ञता प्रकट गरेका थिए ।

सम्बन्धित खबरहरु

भर्खरै