September 20, 2026

मातृभाषा संरक्षणमा जाेड दिँदै धनगढीमा बहुभाषिक कविता गोष्ठी सम्पन्न,

मातृभाषा संरक्षणमा जाेड दिँदै धनगढीमा बहुभाषिक कविता गोष्ठी सम्पन्न,

धनगढी । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा, कोष तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिब’को प्रमुख आतिथ्यमा सुदूरपश्चिम साहित्य समाज धनगढीले आयोजना गरेको ‘बहुभाषिक कविता गोष्ठी’ सम्पन्न भयो।

प्राज्ञ बनेपालीले हाल प्रज्ञा–प्रतिष्ठानले राना थारु समुदायको शब्दकोश निर्माणमा ध्यान दिइरहेको जानकारी दिए। उनका अनुसार ५–६ वटा मातृभाषामा शब्दकोश निर्माणको काम अघि बढिरहेको छ। उनले राष्ट्रिय विभूति जय पृथ्वीबहादुर सिंहद्वारा लिखिएको ‘मानवतावादी’ पुस्तकलाई भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले अंग्रेजीमा अनुवाद गरिरहेको जानकारी पनि दिए।

बनेपालीले सुदूरपश्चिमका विभिन्न मातृभाषामा वाचन गरिएका कविताहरूले भाषा संरक्षण, पहिचान र जगेर्नामा सशक्त भूमिका खेल्ने बताए। उनले कार्यक्रममै नेपाल भाषामा कविता र गीत वाचन गरे।

कार्यक्रमका विशिष्ट अतिथि प्राज्ञ परिषद्का सदस्य जनक रसिकले सुदूरपश्चिम प्रदेश बहुभाषिक भए पनि सम्बन्धित निकायको ध्यान आवश्यक मात्रामा नपुगेको धारणा राखे। उनले प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य र संस्कृतिमा विशेष जोड दिएकोले आगामी दिनमा व्यापक जागरण आउने विश्वास व्यक्त गरे।

पूर्व प्राज्ञसभा सदस्य वासुदेव पाण्डेले मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको योगदानबारे धारणा राखे।

कविता गोष्ठीमा खेमराज ओझा बतास (नेपाली), सागर कुश्मी (थारू), गणेश नेपाली (डोटेली), पदम राना (राना थारू), फाल्गुणा दाहाल (नेपाली), पूर्णबहादुर मल्ल (बझाङ्गी), मिहिलाल उपाध्याय ‘पुष्प’ (नेपाली) र रियल तेज कापडी (नेपाली)ले आ–आफ्नो मातृभाषामा कविता वाचन गरे।

सभाध्यक्ष समाजका उपाध्यक्ष हरिकृष्ण कडायतले सुदूरपश्चिमको सांस्कृतिक पहिचान बचाइराख्न आवश्यक रहेको उल्लेख गर्दै बझाङी भाषामा कविता वाचन गरे।
कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष टोपेन्द्र शाहले दिए भने सञ्चालन महासचिव गणेश नेपालीले गरे।

सम्बन्धित खबरहरु