तरहरा, सुनसरी । सुनसरीको तरहरास्थित तालतलैया क्षेत्रलाई साहित्यिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न ‘तालतलैया कला, साहित्यिक तथा सांस्कृतिक समाज’ले आयोजना गरेको ‘साहित्यिक, सांस्कृतिक तथा तालतलैयाको पर्यटन प्रवर्द्धन’ विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ।

२०८२ असार २७ गते शुक्रबार आयोजित कार्यक्रमको प्रमुख अतिथि संविधानसभा सदस्य, पूर्वमन्त्री तथा लेखिका कल्पना धमला रहेकी थिइन । उनले तालतलैयाको पर्यटन विकासमा स्थानीय जनभावना अनुसार सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुका साथै साहित्य, संस्कृति र पर्यटनबीचको अन्तरसम्बन्धलाई सबल बनाउँदै सहिदहरूको स्मृतिमा पार्क निर्माण गर्न सक्ने हो भने उक्त क्षेत्रले थप पर्यटक आकर्षित गर्ने बताइन ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले समाजवादी साहित्य र वर्गीय समानताको सन्दर्भ उठाउँदै मौलिक तथा रैथाने विषयवस्तु समेट्ने पर्यटन विकासको खाँचो रहेको बताए ।
प्रमुख वक्ता तथा ‘जैविक दर्शन’ पुस्तकका लेखक मोहन तिमल्सिनाले विविध जातजातिका संस्कृति, सहिद योद्धाहरूको योगदान र सामुदायिक परम्परालाई समेट्दै पार्क निर्माणमार्फत पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा व्यक्त गरे ।
भारतको आसामबाट आएका अतिथि कवि भीम धमलाले कविता वाचन गर्दै साहित्य सबैलाई जोड्ने सशक्त माध्यम भएको बताए । त्यस्तै पर्यावरणीय अभियन्ता लीलानाथ गौतमले वातावरण संरक्षणको महत्त्व र त्यसमा साहित्य, संस्कृतिको योगदानको चर्चा गर्दै बिरुवा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा इटहरीको पारिजात आमा समूहले ‘आऊँ हाम्रो साथ’ बोलको गीत प्रस्तुत गरेक थिए । भने कविहरू एल.पी. पराजुली, रोशन भुजेल, कृष्ण नेपाल, पुण्यप्रसाद चौलागाईं, कमला धमला, विमला पोख्रेल लगायतले कविता वाचन गरेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य क्रममा संस्थाकी कोषाध्यक्ष गङ्गा दाहालले ‘इटहरीको सेरोफेरो’ शीर्षकको कविता वाचन गरेकी थिइन ।
कार्यक्रममा तालतलैया विकास तथा संरक्षण समितिका पूर्व अध्यक्ष तथा संस्थाका आजीवन सदस्य लक्ष्मीप्रसाद खनाल र पूर्व अध्यक्ष तुलाराम दङ्गालले तालतलैयाको पर्यटकीय सम्भावना, संरक्षण र प्रवर्द्धन विषयमा मन्तव्य राखेका थिए ।
सभाध्यक्ष तथा समाजका अध्यक्ष कवि राजेन्द्र खत्री ‘सुधीर केसी’ले साहित्य, संस्कृति र पर्यटनलाई समेट्दै भविष्यमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे. । उद्घोषक कवि तथा समाजका उपाध्यक्ष रमेशप्रसाद धमलाले संस्थाको उद्देश्यबारे चर्चा गर्दै निरन्तर प्रगतिशील गतिविधि अघि बढ्ने बताएका थिए ।







