काठमाडौं । दलित, पिछडावर्ग, थारु, आदिवासी जनजाति तथा अल्पसंख्यकहरुको साझा संरचना (डोटिम परिसंघ)को बैठक सम्पन्न भएको छ।
बैठकले आगामी असार २८ गते हुने राष्ट्रिय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रमलाई भव्य र सभ्य ढंगले सफल पार्न विस्तृत कार्ययोजना तय गरेको छ ।

बैठकले देशभरबाट सहभागी सुनिश्चित गर्न प्रदेश र जिल्ला तहका क्लष्टर अनुसारका नेता तथा कार्यकर्ताहरूलाई सहभागी गराउने निर्णय गरेको छ । काठमाडौं उपत्यका र बागमती प्रदेश अन्तर्गत रहेका जसपा नेपालसँग आबद्ध भातृ संगठन, जातीय संघ–संस्था, शुभेच्छुक समूह र विभागका कार्यकर्ताहरूलाई अधिक संख्यामा सहभागी गराउने योजना तयार गरिएको छ।
उपत्यकाभित्र विभिन्न पेशा व्यवसायमा संलग्न रहेका उत्पीडित समुदाय, दलित, मुस्लिम, पिछडावर्ग, थारु र जनजातिलाई पनि सक्रिय रूपमा कार्यक्रममा सहभागी गराउने निर्णय गरिएको छ। साथै अन्य राजनीतिक दलका व्यक्ति र स्वतन्त्र मत राख्नेहरूलाई पनि कार्यक्रममा आमन्त्रण गरिनेछ।
त्यस्तै प्रचार–प्रसारका लागि पम्पलेट छपाइ गरी वितरण गर्ने निर्णय गरिएको छ। यसबाट जनस्तरमा पहिचान विस्तार गर्न सहयोग पुग्ने विश्वास बैठकले गरेको छ ।
बैठकबाट व्यवस्थापन जिम्मेवारी बाँडफाँड गरी बुधवार अर्को बैठक बस्ने निर्णय गरिएको छ । सोही बैठकबाट राष्ट्रिय भेलाको व्यवस्थापन सम्बन्धी जिम्मेवारीहरू विधिवत रूपमा बाँडफाँड गरिनेछ ।
काठमाडौँ सम्पन्न बैठकको संयोजक चन्देश्वर पासवानको अध्यक्षता सम्पन्न भएको थियो । बैठकका प्रमुख अतिथि जसपा, नेपालका उपाध्यक्ष तथा कार्यदल संयोजक विधुत वज्राचार्य रहेका थिए ।
बैठकमा परिसंघका उपाध्यक्षद्वय सुनिता मरिक डोम र पञ्चलो तामाङ, सचिवद्वय शशी कपुर मियाँ र प्रदीप घताल लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।







