November 3, 2026

महाङ्काल प्रज्ञा–प्रतिष्ठानको तेस्रो प्राज्ञसभा: रैथाने बहुभाषिक ज्ञान प्रणालीमा लाग्न कुलपति राईको जोड

महाङ्काल प्रज्ञा–प्रतिष्ठानको तेस्रो प्राज्ञसभा: रैथाने बहुभाषिक ज्ञान प्रणालीमा लाग्न कुलपति राईको जोड

ललितपुर । २०७९ सालमा स्थापना भएको महाङ्काल प्रज्ञा–प्रतिष्ठानले आफ्नो तेस्रो प्राज्ञसभा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको सभाध्यक्षता प्रतिष्ठानका कुलपति गणेशबहादुर केसीले गरेका थिए भने नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए ।

पानसमा दीप प्रज्वलन गर्दै राईले ‘महाङ्काल प्राज्ञिक पत्रिका’, ‘तामाङ–नेपाली द्विभाषिक शब्दकोश’ र ‘बराम जाति’सम्बन्धी अध्ययन कृति लोकार्पण गर्नुका साथै रैथाने बहुभाषिक ज्ञान प्रणालीको प्रवद्र्धनमा जोड दिए ।

कुलपति राईले प्रज्ञा–प्रतिष्ठानहरू गाउँ–गाउँमा पुगेर आदिवासी जनसमुदायसँग सहकार्य गर्दै बहुभाषिक र समावेशी खोज अनुसन्धानमा लाग्नुपर्ने आवश्यकता औँल्याए ।

विशिष्ट अतिथि ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले महाङ्काल क्षेत्रका स्रष्टाहरूको संघीय प्रतिनिधित्वको सम्भावनामा जोड दिँदै स्थानीय संग्रहालय निर्माणको आवश्यकता औँल्याए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य चेतनाथ धमलाले भूमण्डलीकरणको प्रभावले संकटमा परेका रैथाने भाषाहरूको संरक्षणमा स्थानीय सरकारले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उपकुलपति तथा प्राज्ञ परिषद् अध्यक्ष रामसुन्दर केसीले वार्षिक प्रगति प्रतिवेदन तथा २०८२/८३ को कार्यक्रम र २० लाख ६० हजार बजेट प्रस्ताव प्रस्तुत गरे । जुन सभामार्फत परिमार्जनसहित पारित गरिएको छ । आगामी वर्षका प्रमुख कार्यक्रमहरूमा विद्यालय केन्द्रित सिर्जनात्मक लेखन, व्यक्तित्व विकास, निबन्ध तथा चित्रकला प्रतियोगिता, सांस्कृतिक उत्सव, प्राज्ञिक पत्रिका प्रकाशन, र ‘महाङ्काल प्रज्ञा प्रतिभा सम्मान’जस्ता विविध क्रियाकलापहरू रहेका छन्।

कार्यक्रममा गोपाल सञ्जेल, भद्रकुमारी बरामु, वशिष्ठकुमार अधिकारी, मनोज पराजुली, रमेशप्रसाद घिमिरे, रत्न विरही घिमिरे, झञ्जबहादुर गोले, टङ्क लामा थोकरलगायतका अतिथिहरूले मन्तव्य राखेका थिए ।

साहित्य र संस्कृति विभागका सदस्यहरू तथा अतिथि स्रष्टाहरूले कविता र गजल वाचनमार्फत कार्यक्रमलाई सजीव बनाएका थिए।
कार्यक्रमको समापन मन्तव्य राख्दै कुलपति गणेशबहादुर केसीले अब प्रज्ञा–प्रतिष्ठानको नेतृत्व सिर्जनशील स्रष्टामार्फत हुने व्यवस्था गर्न ऐन संशोधन प्रक्रिया अघि बढाउने बताए ।

कार्यक्रमको उद्घोषणा प्राज्ञ परिषद् सदस्य भूमिनन्द घिमिरेले गरेका थिए भने स्वागत मन्तव्य जोनीकुमार न्यासुरले राखेका थिए ।
उपाध्यक्ष डोल्मामाया गोलेले धन्यवाद ज्ञापन गर्दै स्थानीय पालिकाले स्रष्टा संरक्षण र अनुसन्धानमा थप ध्यान दिने प्रतिबद्धता व्यक्त गरिन् ।

महाङ्काल प्रज्ञा–प्रतिष्ठान स्थापना भएको तीन वर्षमै देशभर अनुकरणीय प्राज्ञिक योगदान दिन सफल भएको सहभागीहरूले प्रशंसा गरेका थिए ।

सम्बन्धित खबरहरु

भर्खरै