May 20, 2025

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, वरिष्ठ कवि तथा गीतकार भूपाल राईको निबन्धसङ्ग्रह ‘शब्द सायारेम’ लोकार्पण भएको छ ।
प्रज्ञा–प्रतिष्ठानको प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, प्रसिद्ध लेखक खगेन्द्र सङ्ग्रौला, समाजशास्त्री डा. डम्बर चेम्जोङ, इतिहासविद् भोगिराज चाम्लिङ र साहित्यकार कुमारी लामाले उक्त कृतिको सामूहिक लोकार्पण गरेका थिए । ‘शब्द सायारेम’ उत्पीडन र दमनविरुद्ध रचिएको एक वैचारिक निबन्धसङ्ग्रह हो।

कुलपति भूपाल राईले कार्यक्रमका वक्ता र उपस्थित व्यक्तिलाई विशेष आभार व्यक्त गर्दै ‘शब्द सायारेम’ कवि तथा चित्रकार अर्जुन खालिङको निधनपछि लेखिएका संस्मरणात्मक आलेखहरूको सङ्ग्रह भएको बताए । उनले सायारेमको अर्थ ढलेको शिर उठाउनी हो । तैपनि सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा ढलेको स्वत्वलाई उठाउनु अनिवार्य रहेको उनको भनाइ छ ।

‘शब्द सायारेम’बाट निबन्धकारको परिचय बनाएका कुलपति राईलाई विश्लेषक खगेन्द्र सङ्ग्रौलाले ‘तानाशाहलाई प्रश्न गर्ने ‘बहुला’ को संज्ञा दिँदै बागी विचार सिर्जना गरेर भाषिक सांस्कृतिक दमनविरुद्व सभ्यताको खोजी र नयाँ विकासको आधारस्तम्भ खडा गर्न सफल रहेको बताए । सङ्ग्रौलाले कृतिमा कोलम्बस र पृथ्वीनारायण शाहबारे जे जस्ता प्रश्नहरू गरिएका छन् । ती सबै निर्भय र साहसिक लेखन भएको बताएका छन् ।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले ‘तपाईंको पहाड घर कहाँ हो ?’ शीर्षकको निबन्धलाई गैरमधेसीबाट मधेसी समुदायमाथि भएको दमनको यथार्थ चित्रण भएको बताए । उनले निबन्धलाई दृष्टिविहीनका लागि आँखा दानसँग तुलना गरेका छन् । डा. ठाकुरले नेपाली भाषाको महत्त्व र भाषाका कारण नेपालभित्रै अनेपाली हुनुपर्ने अवस्थालाई तोड्नुपर्नेमा जोड दिँदै कृति त्यस भाष्यविरुद्ध रहेको बताएका छन् ।

समाजशास्त्री डा. डम्बर चेम्जोङले कृतिको साजसज्जा बारे प्रशंसा गर्दै, सामाजिक इतिहास र शब्दको महत्त्वबारे प्रकाश पारेका छन् । उनले कुलपति राईको लेखनमा पुर्खाहरूको स्मृति, जीवनको ऐतिहासिकता र वैचारिक पक्षको सबल चित्रण रहेको बताए ।

इतिहासविद् भोगिराज चाम्लिङले ‘पहाड घर कहाँ हो ?’ निबन्धमा नेपाली समाजको सिङ्गो चित्रण भएको बताए । उनले कुलपति राईको स्वभाव र निबन्धलेखन शैलीलाई किरातीहरूको साकेला नाचसँग तुलना गर्दै उत्कृष्ट कृति भएको बताएका छन् ।

साहित्यकार कुमारी लामाले कुलपति राईका कविताले इतिहास खोज्न प्रेरित गरे जस्तै ‘शब्द सायारेम’ विचार र भावनाको जब्बर निबन्धसङ्ग्रह भएको बताइन् । उनले यसमा रैथाने ज्ञान प्रणाली, पर्यावरण र जीवन पद्धतिसँग कृति एकाकार रहेको बताएकी छन् ।

कार्यक्रम बुकहिलका सञ्चालक तथा प्रकाशक भूपेन्द्र खड्काले सञ्चालन गरेका थिए।

सम्बन्धित खबरहरु