काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान र गुञ्जन नारी साहित्यिक संस्थाको सहकार्यमा “नेपालभाषाका नारी कविहरूका कवितामा भाषा र बिम्बको प्रयोग“ विषयक कार्यपत्र तथा कविता वाचन गरिएको छ ।
उक्त कार्यक्रम प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा, कोश र व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिब)को अध्यक्षतामा सम्पन्न भएको हो । कवि तथा समालोचक प्रतिसरा सायमिले कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रज्ञा–प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्य डा. मधुसुदन गिरीले बिम्बविधानका बारेमा आफ्नो विचार राखेका थिए ।
प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले गुञ्जन साहित्यको परिचय दिँदै स्वागत मन्तव्य राखेका थिए । गुञ्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए ।
कार्यक्रममा ईश्वरीमैयाँ श्रेष्ठ, रीता (रितु) महर्जन, सिल्बया जोशी, रिता महर्जन, लक्ष्मी माली, शान्ता श्रेष्ठ, दिव्या श्रेष्ठ, विमला शाक्य, रजनी मिला र लसहिना शाक्यलगायत १०जना कविले कविता वाचन गरेका थिए ।
वाचित कविताबारे प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य सुलोचना मानन्धरले समीक्षात्मक टिप्पणी राखेका थिए । कार्यक्रममा नेपालभाषा र नेपाली भाषाका समीक्षक, स्रष्टा र साहित्यिक अनुरागीहरूको बाक्लो उपस्थिति थियो ।


