काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक रहेको बताएका छन् ।
मन्त्रालयमा स्वास्थ्य सुधार सुझाव समितिको प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई केवल स्वास्थ्य मन्त्रालयको कार्यक्रमका रूपमा सिमित राख्न नहुने बताए ।
उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका सबै निकायहरूको दृढ संकल्प, नीति–निर्माताहरूको सहयोग र समग्र राष्ट्रको एकीकृत प्रतिबद्धता अपरिहार्य रहेको बताए ।
यसका लागि मन्त्रालयको तर्फबाट प्रधानमन्त्री तथा सिंगो संसदको सहयोगमा हाल विभिन्न निकाय तथा मन्त्रालयमार्फत छरिएर सञ्चालन भइरहेका स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरूलाई एउटै संरचनाभित्र समेटी एकीकृत व्यवस्थापन गरिने जानकारी दिए । उनले छुट्टाछुट्टै रहेका कार्यक्रमहरूलाइ क्रमशः एउटै छातामुनि ल्याई उपचारमा सबैको समान पहुँच, सेवा प्रवाहमा पारदर्शिता र उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी स्वास्थ्य बीमा प्रणालीलाई समृद्ध, व्यवस्थित र नागरिकमैत्री बनाइने बताए ।