काठमाडौंँ । जनसांस्कृतिक महासङ्घ नेपालको ४३ औँ स्थापना दिवस तथा ३० औँ जनयुद्ध दिवसको अवसरमा जनसांस्कृतिक महासङ्घ, नेपालले आफ्ना पूर्व अध्यक्षहरूलाई सम्मान गरेको छ । महासङ्घले सम्मान कार्यक्रमका साथै कृति विमोचन तथा अन्तर्क्रिया कार्यक्रमसमेत आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी–केन्द्र)का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री सत्य पहाडीले जनसांस्कृतिक महासङ्घका पूर्व अध्यक्षहरू ईश्वरचन्द्र ज्ञवाली, गणेश भण्डारी, सरल सहयात्री र मातृका पोखरेल लगायतलाई सम्मान गरेका छन् ।
प्रमुख अतिथि पहाडीले कार्यक्रमको सम्बोधन गर्दै पार्टी र सांस्कृतिक मोर्चालाई जोड्नु पर्ने धारणा प्रस्तुत गरे । उनले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्दै समाजवादको बाटोमा हिँड्न जनतालाई सङ्गठित गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
यसैगरी प्रमुख अतिथि पहाडी लगायतका अन्य अतिथिहरूबाट ‘रोल्पा’ जिल्लाका विषयवस्तुमा आधारित भइ रचिएको संयुुक्त कवितासङ्ग्रह ‘कुइख्याङ’को विमोचन एकसाथ भएको थियो । उक्त सङ्ग्रहमा एकाउन्न जना कविका कवितालाई सङ्गृहीत गरिएको छ।
प्रगतिवादी साहित्यकार पारिजात संस्थापक अध्यक्ष रहेर २०३८ सालमा जनसांस्कृतिक सङ्घको स्थापना भएको थियो। यसपछि शक्ति लम्साल (अध्यक्ष–२०४१०, कृष्णसेन इच्छुक (अध्यक्ष–२०४६), मणि थापा (अध्यक्ष–२०६०) र डा. ऋषिराज बराल (संयोजक– २०६१), निनु चापागाईं (अध्यक्ष ः इन्द्रेणी सांस्कृतिक समाज र प्रगतिशील सांस्कृतिक समाज), ईश्वरचन्द्र ज्ञवाली (२०६३), गणेश भण्डारी (२०७३), सीता शर्मा (कार्यवाहक अध्यक्ष २०७३), सरल सहयात्री (२०७३) र मातृका पोखरेल (संयोजक २०६९ , अध्यक्ष २०७८) रहेका थिए।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य, जनसांस्कृतिक महासङ्घका इन्चार्ज तथा पूर्व अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले जनयुद्धको समयमा सांस्कृतिक प्लाटुन निर्माण गरी सांस्कृतिक अभियान सञ्चालन गरेको इतिहासको स्मरण गर्दै समाजवादी संस्कृतिको बाटोमा अग्रसर हुन जोड दिए ।
नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्व अध्यक्ष मातृकाप्रसाद पोखरेलले पारिजात अध्यक्ष हुँदा सङ्गठन छाडेर जाने व्यक्तिका बारेमा वैचारिक प्रतिवाद गर्नुभएको इतिहासको उजागर गर्दै सांस्कृतिक विचलनलाई गम्भीर समस्याका रूपमा चित्रण गर्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका अध्यक्ष तथा महासङ्घका पूर्व अध्यक्ष सरल सहयात्रीले सांस्कृतिक आन्दोलनलाई फराकिलो बनाउन विद्यालय, विभिन्न उत्पादन र श्रमका क्षेत्रसम्म विस्तार गर्नुपर्ने धारणा राखेका छन् ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सदस्य तथा महासङ्घका पूर्व अध्यक्ष गणेश भण्डारीले समाजवादी संस्कृति निर्माणका लागि जनताका घरदैलोमा पुगेर सामूहिक संस्कृतिको आदर्शलाई स्थापित गर्नुपर्ने धारणा प्रस्तुत गरे ।
कार्यक्रम जनसांस्कृतिक महासङ्घ, नेपालका केन्द्रीय अध्यक्ष भीम कुमाखीको अध्यक्षतामा सम्पन्न भएको छ । कुमाखीले कार्यक्रम समापन गर्दै अब समाजवादी संस्कृति निर्माणमा एकजुट भएर लाग्नुपर्ने बताउँदै पूर्व अध्यक्षहरूको सम्मान भनेको इतिहासको सम्मान रहेको बताए ।
महासङ्घका सचिवालय सदस्य तथा अखिल नेपाल लेखक सङ्घका केन्द्रीय अध्यक्ष स्वप्निल स्मृतिले विमोचित कवितासङ्ग्रह कुइख्याङ’को चिरफार गर्दै कविताले रोल्पा जिल्लाको यथार्थ तस्बिर उतारेको बताए ।
महासङ्घका केन्द्रीय उपाध्यक्ष डम्बर रोकायाले कार्यक्रममा स्वागत मन्तव्य राख्दै अग्रजहरूको सम्मान गर्नु नै इतिहासको स्मरण गर्नु हो भन्नुभयो।
महासङ्घका केन्द्रीय महासचिव केशव सिलवालले कार्यक्रम सञ्चालन गर्दै महासङ्घको इतिहास, योगदान र सम्मानित व्यक्तित्वका बारेमा प्रकाश पारे ।
कार्यक्रमको प्रारम्भमा पेरिसडाँडामा रहेको सहिद तथा बेपत्ता योद्धा स्मृति स्तम्भमा अबिर तथा माला अर्पण गरियो। जनसांस्कृतिक महासङ्घ, नेपालको स्थापना तथा ३० औँ जनयुद्ध दिवसका अवसरमा अखिल नेपाल ललितकला सङ्घले माघ २६ गते सञ्चालन गरेको ललितकला कार्यशालाबाट सृजित चित्रकलाको प्रदर्शनी गरिएको छ । ती चित्र जनसांस्कृतिक महासङ्घ, नेपालको अक्षयकोष निर्माणका लागि बिक्रीमा राखिएको छ।