काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले मासिक रूपमा आयोजना गर्दै आएको मातृभाषा साहित्य शृङ्खलाको आठौँ श्रृङ्खला सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले चाम्लिङ भाषाको कार्यक्रम हुँदा आफ्नै जस्तो लाग्ने गरेको बताउनु हुँदै प्रत्येक भाषाको महत्त्व समान रहेको बताए । उनले चाम्लिङ भाषाका अध्येता तिलक चाम्लिङद्वारा लिखित कार्यपत्र ‘चाम्लिङ भाषाको साहित्य’ निक्कै पठनीय र स्तरीय रहेको बताए ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद) विभाग प्रमुख हंसावती कुर्मीले स्वागत मनतव्यका क्रममा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै प्रज्ञा–प्रतिष्ठान प्रत्येक मातृभाषाको उत्थान र प्रवर्द्धन गर्न लागि परेको बताइन । उनले मातृभाषाविना बाँच्न र जिउन कठिन हुने बताएकी छन् ।
यसैगरी कार्यक्रमका सभाध्यक्ष, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा भनेको आफ्नै आमाको भाषा भएकाले हामी आफैँ जागृत हुनुपर्ने बताएका छन् । उनले आफू बान्तवाभाषी भए पनि चाम्लिङ भाषा आफ्नो मातृभाषा सरह रहेको बताउँदै आगामी मातृभाषा शृङ्खला नौँमा वाम्बुले राईभाषा साहित्यका विषयमा कार्यपत्र प्रस्तुत हुने बताए । प्रत्येक शृङ्खलामा फरकफरक मातृभाषाबाट तीनवटा कविता वाचन गर्ने गरिएको छ ।
यसपटकको मातृभाषा साहित्य श्रृङ्खला ८ओैँमा चाम्लिङ राईभाषाका अध्येता तिलक चाम्लिङले ‘चाम्लिङ भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत कार्यपत्रमा चाम्लिङ मातृभाषाको स्थिति, काल विभाजन, पाठयपुस्तक प्रकाशन, पत्रपत्रिका प्रकाशन, सोसल मिडियाको प्रभाव र चाम्लिङ साहित्य कृतिलगायतका बारेमा चर्चा गरिएको थियो ।
उक्त कार्यपत्रमाथि सहभागीका तर्फबाट बयानसिंह राई, सोमबहादुर धिमाल र मानबहादुर राईले पुरक विचार राखेका थिए ।
कार्यक्रममा मैथिली भाषामा बिजेता चौधरी, बायुङ राई भाषामा वसन्त बायुङ राई, दुमी राई भाषामा प्रयास दुमी राईले कविता वाचन गरेका थिए । यस कार्यक्रमको सहजीकरण प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गरेका थिए ।
सम्प्रेषण स्प्राज्ञ चेतनाथ धमला