काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो ।
नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । विक्रमजित सिंहले ९२ बल खेल्दै ७ चौकासहित अविजित रहँदै ५६ रन बनाए । यस्तै साएब्रान्ड एंगलब्रेक्टले ७५ बल खेल्दै ३ चौकासहित अविजित ४६ रन बनाए ।
नेपालले दुवै ओपनरको विकेट लिएपनि त्यसपछि थप विकेट लिन सकेन । नेदरल्याण्ड्सका ओपनर माइकल लेभिटले ३४ बलमा ३९ तथा म्याक्स ओ डाउडले २६ बलमा २८ रन बनाए र आउट भए । नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो ।
२०२४–२७ लिग २ को नयाँ साइकल नेपालबाटै सुरु भएको छ । जहाँ नेपालसहित नेदरल्याण्ड्स र नामिबिया सहभागी थिए । त्यसमा नामिबियाले चारमध्ये ३ खेल जितेर ६ अंक जोड्यो । नेदरल्याण्डसले २ जित र २ हारबाट ४ अंक जोड्दा १ खेल मात्र जितेको नेपालले २ अंक जोडेको छ।
नेपालले अब लिग २ को अर्को शृखंला आगामी सेप्टेम्बरमा क्यानडामा र अक्टोबरमा अमेरिकामा खेल्नेछ । क्यानडामा हुने शृखंलामा नेपाल, क्यानडा र ओमानबीच हुनेछ भने अमेरिकामा नेपाल अमेरिका र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
लिग २ अन्तर्गत नै अर्को शृखंला भने यही २८ फेब्रुअरीबाट युएईमा सुरु हुनेछ । जहाँ युएई, क्यानडा र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।