काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तर्राष्ट्रिय पुस्तक दिवस तथा श्रीपञ्चमीको अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी मेला–२०८० सुरु गरेको छ । पुस्तक प्रदर्शनी प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले उदघाटन गरेका छन् । यसै क्रममा कुलपति राईले पठन संस्कृतिलाई व्यापक तुल्याउने उद्वेश्यले पुस्तक प्रदर्शनी मेलाको आयोजना गरिएको बताए । उनले प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित पुस्तक र पत्रिकालाई पाठक सामु पुर्याउन यस्ता प्रदर्शनीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । अँध्यारोबाट उज्यालोमा हिँडाउन र ज्ञानविज्ञानलाई विश्वव्यापी तुल्याउनमा अन्तर्राष्ट्रिय पुस्तक दिवसको अहम भूमिका रहँदै आएको उनको भनाइ छ ।
यस प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित शब्दकोष, समालोचना, खोजअनुसन्धान, भाषा, साहित्य, दर्शन, सामाजिक, इतिहास, कला र संस्कृति लगायतका विधागत पुस्तकहरू राखिएका छन् ।
यसै क्रममा आमपाठकहरूको पठन संस्कृति र अभिरुचिलाई ध्यानमा राखेर ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ लगायत एक हजारथान भन्दा बढी पुस्तक प्रदर्शनीमा राखिएको छ । यस प्रज्ञा–प्रतिष्ठानको भानुभक्त कक्षमा प्रदर्शनीमा राखिएका पुस्तकहरू इच्छुक व्यक्ति वा क्रेताले रु २० (बिस) देखि ४० (चालीस) प्रतिशतको विशेष छुटमा खरिद गर्न सक्नेछन् । यस प्रदर्शनीमा रू ५ (पाँच) मूल्य रहेको काव्यर्चनादेखि रू ३,३०५ (तीन हजार तीन सय पाँच रूपैयाँ )को ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ राखिएको छ।
यस पुस्तक प्रदर्शनीको २०८० फागुन १८ गतेसम्म रहने छ ।