September 8, 2024

आज तमु ल्होसार मनाइँदै

आज तमु ल्होसार मनाइँदै

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व आज मनाइँदैछ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो । यसपटक तमु गुरुङ समुदायले ‘हि–ल्हो’ (बिरालो वर्ग) को बिदाइ गर्दै गिद्ध (मि–ल्हो) को स्वागत गरेर भव्य रूपमा मनाउने छन् ।

गुरुङ बाहुल्य गण्डकीका खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच यो पर्व मनाउँदै आएका छन् । पर्वको अवसरमा टुँडिखेलमा सांस्कृतिक कार्यक्रमका साथै गुरुङ समुदायका परिकारको समेत प्रदर्शनी गरिन्छ ।

तमु ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले देश विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायलाई शुभकामना दिएका छन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content