विराटनगर । नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने भएको हो ।
माओवादी केन्द्र कोशी प्रदेशको सोमबार बसेको कार्यालय बैठकमा यस विषयमा छलफल भएको र उक्त छलफलले विश्वासको मत दिनुपर्ने निष्कर्ष निकालेको माओवादी स्रोतले जनाएको छ ।
माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेवले आफूहरूको मनसाय मत दिने रहेको बताए । यद्यपि अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन नआएको उनको भनाइ छ । यस विषयमा भोलि केन्द्रले निर्देशन दिने पनि उनले बताए ।
गठबन्धनको निर्णय विपरीत विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । उनले बुधबार विश्वासको मत लिन लागेका छन् । प्रदेशसभा सचिवालयले बुधबारका लागि प्रदेशसभा बैठक बोलाएको छ । गठबन्धन दल माओवादी केन्द्रसहित कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपाले पनि विश्वासको मत दिने सम्भावना छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डा। शेखर कोइरालाबीच गठबन्धनलाई बलियो बनाएर लाने सहमति भइसकेको छ । राप्रपा भने विश्वासको मतको विषयमा मौन रहेको छ ।