काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने मूल नाराका साथ नियमित कार्यतालिकाअनुसार विजयादशमी–२०८०को उपलक्ष्यमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ। आमरूपमा पठन संस्कृतिको विकास गर्ने उद्वेश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले गरेका छन् ।
यस अवसरमा उनले पाठकहरूको चाहना र पठन संस्कृतिप्रति आकर्षित गर्ने उद्वेश्यले पुस्तक प्रदर्शनी गरिएको बताएका छन् । प्रज्ञाका पुस्तकहरू सातै प्रदेश र पालिकासम्म पुर्याउने लक्ष्य कुलपति राईले बताए ।
प्रदर्शनीमा भाषा, साहित्य, संस्कृति, दर्शन, इतिहास, सामाजिक शास्त्र, कला र विज्ञानलगायतका पुस्तकहरू राखिएको छ । पुस्तक प्रदर्शनीमा शब्दकोशबाहेकका सम्पूर्ण पुस्तकहरू ४० प्रतिशत छुटमा बिक्री गर्ने व्यवस्था गरिएको छ ।