December 11, 2024

नेपाली साहित्यको इतिहास लेखन, परम्परा, प्रवृत्तिबारे विचार गोष्ठी सम्पन्न

नेपाली साहित्यको इतिहास लेखन, परम्परा, प्रवृत्तिबारे विचार गोष्ठी सम्पन्न

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, समालोचना र साहित्य इतिहास विभागले  ‘नेपाली साहित्यको इतिहास लेखन परम्परा, प्रवृत्ति र आवश्यकता’ विषयक विचार गोष्ठीको आयोजना देवकोटा सभाकक्षमा सम्पन्न गरेकाे छ ।प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईकाे प्रमुख आतिथ्यतामा गाेष्ठी सम्पन्न भएको हो ।

    गोष्ठीको स्वागत मनतव्यका क्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाली साहित्यको समग्र इतिहास लेखनका बारेमा खोजी र विश्लेषण हुनुपर्ने बताए ।

गोष्ठीको अध्यक्ष नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (समालोचना र साहित्य इतिहास) विभाग प्रमुख मधुसुदन गिरीले नेपालको समालोचना लेखन कस्तो अवस्थामा रहेको छ ? आज विश्वमा समालोचना लेखनको प्रवृत्ति के कस्तो रहेको छ ? नेपाली साहित्यको इतिहास लेखन, परम्परा र प्रवृत्ति के कस्तो छ, के कस्तो आवश्यकता छ ? भन्ने विषयमा दुई महिने विमर्श शृङ्खला सुरु गरिएको कुरा उल्लेख गरेका छ्न् ।

    प्रस्तुत विषयमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा समालोचक डा. बालकृष्ण अधिकारीले कार्यपत्र प्रस्तुत गरेक छन् । कार्यपत्रमा साहित्य इतिहास के हो ? साहित्य इतिहास कस्तो हुन्छ ? नेपाली साहित्यको इतिहास लेखन परम्परा, इतिहास चेतको प्रारम्भ वा पृष्ठभूमि निर्माण यसका मूल प्रवृत्तिहरू साहित्य इतिहास लेखन र ग्रन्थ प्रकाशन, साहित्य इतिहासको सैद्धान्तिक तथा प्रायोगिक विमर्श र नेपाली साहित्यको इतिहास लेखनका आवश्यकताबारे प्रष्ट पारिएको छ ।

उक्त कार्यपत्रका टिप्पणीकार  प्रा.डा. दयाराम श्रेष्ठले ‘नेपाली साहित्य लेखन कमजोर नभएकाे र अहिले नेपाली भाषा संसारका कुनाकुनासम्म छरिएको बताए । संसारका कुनाकुनासम्म छरिएर रहेका  नेपाली साहित्यको पनि इतिहास लेखिनु पर्ने र यसका लागि तथ्यपूर्ण सामग्रीको सङ्कलन हुनुपर्ने टिप्पणी गरेका छन् ।

    यसैगरी कार्यपत्रका अर्का  टिप्पणीकार डा. विन्दु शर्माले वर्णनात्मक ढाँचामा लेखिएको यस कार्यपत्रका  सीमाहरू प्रष्ट खुलाइ साहित्य इतिहास लेखनमा शैली विज्ञानका बारेमा थप व्याख्या हुनुपर्ने  बताएकी छन् ।

  प्रस्तुत कार्यपत्रमाथि सहभागीका तर्फबाट प्रा.डा.माधवप्रसाद पोखरेल, प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. हरिप्रसाद सिलवाल, डा. सोम धिताल, घनेन्द्र ओझा, ज्ञानु अधिकारी, सरोज दिलु विश्वकर्मा, प्रमोद प्रधान र विक्रम त्रिपाठीले आआफ्नो धारणा राखेका छन् ।

     यस कार्यक्रमको सहजीकरण तथा उद्घोषण प्रज्ञा-प्रतिष्ठान ‘समालोचना तथा साहित्य इतिहास’ विभागका सदस्य तेजविलास अधिकारी गरेका छन् ।

सम्बन्धित खबरहरु

Skip to content