काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रवार आयोजना गर्ने ‘मातृभाषा साहित्य शृङ्खला’ अन्तर्गत सुनुवार भाषा, साहित्य र सौन्दर्यबारे विमर्श कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम प्रतिष्ठानको देवकोटा सभा कक्षमा सम्पन्न भएकाे हाे ।
विमर्श कार्यक्रममा डा.लाल श्याँकारेलु रापचाले ‘किराँती-काँइच (सुनुवार) भाषा-साहित्यमा सङ्कट सौन्दर्य’ तथा कोइँचबु काःतिच (उत्तम सुनुवार)ले ‘सुनुवार भाषाको साहित्य र सौन्दर्य’ विषयक फरक फरक कार्यपत्र प्रस्तुत गरेका छन् ।
उक्त कार्यपत्रमाथि आफ्नो धारणा राख्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ‘नेपालका विश्वविद्यालयमा हरेक मातृभाषाको पठनपाठन हुनु पर्ने बताउदै यसले मात्रै मातृभाषामा जागरण आउँछ र भाषिक जटिलता हट्ने बताए ।उनले भाषिक जटिलता निरूपण गर्न प्रज्ञा-प्रतिष्ठान लागिपर्ने बथाएका छन ।
कार्यक्रमका सभाध्यक्ष एवम् प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले उक्त कार्यपत्र र मातृभाषाका कविता वाचनबारे चर्चा गरे । यसै क्रममा ‘रैथाने मातृभाषा, साहित्य र संस्कृतिको बारेमा निरन्तर बहस हुनुपर्छ । प्रत्येक मातृभाषाको छुटाछुट्टै सौन्दर्य हुन्छ, तर अहिले पनि आन्तरिक रूपमा मातृभाषीले भाषिक उपनिवेश व्यहोर्नुपरेको छ ‘ उनकाे भने ।
यस कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.कृष्णराज सर्वाहारीले कार्यपत्रमाथि आफ्नो धारणा राखे ।
यसैगरी कार्यक्रममा उपस्थित सहभागीहरू मध्ये डा.सोमबहादुर धिमाल, कृष्णप्रसाद, प्रतापसिंह नाछिरिङ, धनराज घिसिङ, जुजुकाजी रञ्जित र शोभा सुनुवार ‘जुलियट’ले कार्यपत्रमाथि टिप्पणी गरेका छन ।
यस कार्यक्रममा तीन मातृभाषाका तीन कविहरू नैन सेताल्चुले ‘जेरुङ भाषा’को कविता ‘खालाङ’, रमेश थामीले ‘थाङ्मी भाषा’को कविता ‘धनेको देस्यै’ र टङ्क सुनुवारले ‘सुनुवार भाषा’को कविता ‘नुम्बुर’ वाचन गरे ।
कार्यक्रमको सञ्चालन प्रज्ञा-प्रतिष्ठानका भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले गरिन ।