प्रज्ञा-प्रतिष्ठानद्वारा उत्कृष्ट १० कवि  पुरस्कृत

काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको ‘राष्ट्रिय कविता महोत्सव- २०८०’ का उत्कृष्ट १० कविहरूलाई प्रमुख अतिथि सम्मानीय राष्ट्रपति रामचन्द्र  पौडेलले राष्ट्रपति भवन, शीतल निवासमा पुरस्कृत गरेका छन् ।

       पुरस्कृत हुनेहरूमा काठमाडौँका कवि उमेश पुनको नेपाली भाषाको कविता  ‘छोरी, सिमाना र देश’, सुनसरीका कवि  कृपा करुणा पोखरेलको नेपाली भाषाको  कविता ‘रक्तिम कथा’, दार्चुलाका कवि खिमानन्द जोशीको डोटेली भाषाको कविता ‘ईजा ! मुई गोठ नाइँ झान्या हुँ’, उदयपुरका कवि जीवन आरोहीको नेपाली भाषाको कविता ‘प्रश्नहरूको विज्ञप्ति’, रोल्पाका कवि टङ्कबहादुर झाँक्री मगरको खाम मगर भाषाको कविता  ‘हुन्के बे बड्डा’, सुनसरीका कवि तीर्थराज विश्वकर्माको नेपाली भाषाको कविता ‘कविले के सम्झियो ?’, दाङका कवि नवीन अभिलाषीको नेपाली भाषाको कविता ‘भेरी : अभिशप्त बगिरहेछ’, डोटीका कवि पूर्णानन्द ओझाको डोटेली भाषाको ‘कविता सन्निको मान्स’, सुनसरीका कवि प्रकाश दिप्साली राईको नेपाली भाषाको कविता ‘नौरानको नाम’ र काठमाडौँका कवि राधिका कल्पितको नेपाली भाषाको कविता ‘परिचय-पत्र’ गरी १० जना उत्कृष्ट कविताका कविहरूलाई  जनही २० हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएकाे हाे ।

    उक्त  पुरस्कार समारोहका विशिष्ट अतिथि  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कविले नेपाली समाजलाई अध्येताको आँखाबाट हेर्न सक्नु पर्ने बताए । उनले विश्वलाई नेपाली कविले मौलिक स्वादका कविता दिनुपर्नेमा जाेड दिएका छन् ।

      यसैगरी राष्ट्रिय कविता महोत्सव -२०८० पुरस्कार  समारोह नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा सम्पन्न भयो । समराेहका अध्यक्ष तथा कुलपति राईले यस पटकदेखि सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा-प्रतिष्ठान भन्ने मूल ध्येयका साथ कविता महोत्सवलाई  समावेशी र सहभागितामूलक सिद्धान्तको रूपमा आत्मसात् गर्दै प्रथम, द्वितीय र तृतीय हुने परम्परागत ढाँचालाई बदल्दै प्राप्त कविका कविता मध्ये उत्कृष्ट १० कवि र कविता घोषणा गर्न सुरु गरेकाे बताए। यसले नेपाली जातजाति र भाषाभाषीको साझा भावनालाई विकास गर्ने उनकाे भनाइ छ ।

       यस समारोहमा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले स्वागत मनतव्य राख्दै एकलभाषी कविता महोत्सव हुँदै आएकोमा यससम्बन्धी  संरचनात्मक शैली  हेरफेर गरेर  राष्ट्रिय कविता महोत्सवलाई  बहुभाषिक बनाएकाले नै सबै भाषाका कविहरूको आकर्षण बढेको बताए।

     पुरस्कार समाराेह सञ्चालन गर्दै प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले फरक स्वाद र शैलीका साथ यस पटकदेखि सुरु गरिएको बहुभाषिक ‘राष्ट्रिय कविता महोत्सव’मा सर्वाधिक कविता आएका बताउदै यसले प्रज्ञा-प्रतिष्ठानप्रति कविहरूको आस्था र विश्वास बढेको बताए ।

      यस्तै प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले यस पटकदेखि  राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक र समावेशी बनाइएकाले नेपालमा बोलिने १२४ भन्दा बढि भाषाभाषीको आस्थाको केन्द्र प्रज्ञा-प्रतिष्ठान भएको जनाएका छन् । उनले ८९२ वटा कविता इमेल र प्रत्यक्षमार्फत दर्ता हुन आएकामा  मूल्याङ्कन समितिले १० वटा उत्कृष्ट कविता छनौट गरेको  उल्लेख गर्दै युगको ज्वलन्त आवाज कविताले बोलेको प्रष्ट पारे । यसै क्रममा बस्नेतले  राष्ट्रिय कविता महोत्सव -२०८० को सङ्क्षिप्त प्रतिवेदन प्रस्तुत गरेका छन् ।

        प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतको संयोजकत्वमा ५ सदस्यीय  ‘राष्ट्रिय कविता  महोत्सव-२०८० कविता मूल्याङ्कन समिति’ गठन भएकाे थियाे । यस समितिका सदस्यहरूमा प्रतिसरा सायमि, रमण घिमिरे, ओमकार उप्रेती ‘प्रथा’, हाङयुग सुब्बा थाम्सुहाङ (हाङयुग अज्ञात) र दीपक सापकोटा रहेको छन् । उक्त समितिले उत्कृष्ट १० कवि र कविताको चयन गरेको हो ।

कला/साहित्य फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *