एल.बी. क्षेत्रीको ‘को हो त्यो मान्छे ?’ सार्वजनिक

काठमाडौँ । कवि तथा प्राध्यापक एल.बी. क्षेत्रीद्वारा रचित कवितासङ्ग्रह ‘को हो त्यो मान्छे ?’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँको प्रज्ञा–प्रतिष्ठनमा आयोजित एक समारोहमा सभाध्यक्ष भुवनहरि सिग्देल, प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठनका कुलपति भुपाल राई, समाजसेवी मीना लामिछाने, आख्यानकार भुवन ढुङ्गाना, समालोचक महेश पौड्याल तथा साहित्यकार प्रतीक ढकालले सामूहिक लोकार्पण गरेका हुन् ।

सो अवसरमा कुलपति राईले नेपाली र अङ्ग्रेजी भाषाका कवि तथा साहित्यिक अभियन्ता एल.बी. क्षेत्रीका कवितामा देश प्रेम, माटोको सुगन्ध र वर्तमान समयको चित्रण भएको चर्चा गर्दै कविता आफैँमा आन्दोलन र सिद्धान्त भएको बताए ।

यसैगरी विशिष्ट अतिथि तथा आख्यानकार, कवि भुवन ढुङ्गानाले एल.बी.क्षेत्रीलाई देख्दा फिलिमको सक्रिय कलाकार जस्तो लाग्ने बताए । प्रस्तुत कविता सङ्ग्रहभित्र सङ्गृहित कविता राम्रा लाग्छन् तर सोझो र सपाट लाग्ने केही राजनीतिका कविता नराखेको भए झनै सुन्दर हुने उनको भनाई थियो ।

यसैक्रममा अतिथि तथा समालोचक महेश पौड्यालले कविताको विवेचना उपकरणको भासभन्दा माथि उठ्नु पर्ने बताए । उनले अबका दिनमा कविता आफूले बोकी ल्याउने सत्य प्रतिको निष्ठाको कसीमा हुनुपर्ने बताउँदै पाठक, आलोचक र व्याख्याताका लागि एल.बी. क्षेत्री एक निर्भीक, भयरहित र प्रस्ट कवि भएको बताए ।

यसैगरी ‘को हो त्यो मान्छे’ कवितासङ्ग्रका रचयिता एल.बी. क्षेत्रीले मेरा कविता म जस्तै कविता कोर्ने सबै कविलाई समर्पित गरेको बताए । ‘म होरेस र मेथु अर्नाल्डको स्कुलिङ्गबाट आएको हुँ । त्यसैले मैले कविताद्वारा आफूले देखेको सत्य बोल्न चाहन्छु’ उनले भने ।

यस लोकार्पित सङ्ग्रहबाट प्रज्ज्वल अधिकारी, भवानी खतिवडा र भैरवी भूगोलले कविताबाचन गरे ।

यसैक्रममा महाकाव्यकार भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न भएको यस लोकार्पण कार्यक्रमको स्वागत मन्तव्य डा. अशोक थापाले राखेका थिए ।

कला/साहित्य समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *