कर्णालीको मौलिकता समाप्त हुने चिन्ता

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरीले कर्णालीको मौलिकता समाप्त हुने चिन्ता व्यक्त गरेका छन् । स्रष्टा खडानन्द चौलागाईद्वारा लिखित ‘कर्णालीका गाउँखाने कथाहरू’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. गिरीले केही लेखकहरूले यथार्थलाई भाँचकुच गरेर स्वार्थ पूरा गर्न कर्णालीको नाम भजाएर अनुचित लाभ लिएका छन् । त्यस प्रवृत्तिलाई निरुत्साहित नगर्ने हो भने कर्णालीको मौलिकता समाप्त हुने चिन्ता व्यक्त गरेका हुन् ।

उनले ‘कर्णालीका गाउँखाने कथाहरू’ कर्णालीको जनजीवनमा भिजेको लोकगाथा भएको र यसले वास्तविक लोकमय साहित्यिक भाकालाई चित्रण गरेको बताएका छन् ।

यसै सिलसिलामा चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख राजुसिंह कठायतले जुम्ला नेपाली भाषाको माउभाषा ‘खसभाषा’को उत्पति थलो भएर पनि राज्यबाट उपेक्षित भएको गुनासो गरे । उनले पाठयपुस्तक वा सञ्चारमाध्यममा खासै प्राथमिकता नदिएको भन्दै कर्णालीको मौलिक लोकसाहित्यलाई सबैले उजागर गर्नुपर्नेमा जोड दिए ।

यसैगरी ‘कर्णालीका गाउँखाने कथाहरू’ साइतरसङ्ग्रहको समीक्षा गर्दै कृषिविज्ञ डा. भीम केसीले कर्णालीको भाषा, लोकोक्ति, टुक्का, उखानलगायत कैयन् सांस्कृतिक र पुरातात्त्विक वस्तुहरू विलुप्त भइसकेको बताए । उनले भने ‘आधुनिक प्रविधिसँगै कर्णालीको मौलिकतामा ह्रास आएको छ । यसका साथै खसभाषा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई आकर्षित गर्न सक्नुपर्छ ।’

यसै क्रममा नेपाली काङ्ग्रेस जुम्लाका महाधिवेशन प्रतिनिधि दिलबहादुर महत्तले कर्णालीको लोकसाहित्य र साइकरको उत्खनन गर्नुपर्ने बताउँदै खसभाषामा ‘कर्णालीको माउटो’ बोलको लोकगीत गाएका थिए ।

यसैगरी पुस्तकका लेखक खडानन्द चौलागाईले कर्णालीको गाउँखाने लोककथामा बौद्धिक, सामाजिक र सांस्कृतिक चित्रण रहेको उल्लेख गर्दै नेपाली भाषाको माउभाषा ‘खस भाषा’लाई सरकारले सदैव उपेक्षा गरेकाले मौलिक जीवनशैली र लोकसंस्कृति सङ्कटमा पर्न थालेको देखेर आफूले ‘कर्णालीका गाउँखाने कथाहरू’लाई अन्वेषण गरी पुस्तकको रूप दिएको बताए ।

यसैक्रममा कार्यक्रमका उद्घोषक, कवि, गायक तथा पत्रकार मोतीराज बमले ‘जुम्ली’ शीर्षकको रैथाने कविता र लोकगीत प्रस्तुत गर्दै कर्णालीको साहित्यिक र सांस्कृतिक क्षेत्रको विकासमा सरकारले वेवास्ता गरेको धारणा राखे ।

यसैगरी समापनका क्रममा सभाध्यक्ष तथा आयुषराज मल्टिमिडिया प्रालिका अध्यक्ष भरतबहादुर मल्लले कर्णाली क्षेत्रको लुकेका साइतर र ओझेल परेका भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए ।

गाउँ खानेकथालाई कर्णालीमा साइतर भनिन्छ । तिनै साइतरहरूको खोजअनुसन्धान, सङ्कलन र सम्पादन गरेर स्रष्टा चौलागाईंले ‘कर्णालीका गाउँखाने कथाहरू’ नामक साइतर सङ्ग्रह प्रकाशित गरेका छन् ।
(ढुस्केली)

कला/साहित्य फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *