December 11, 2024

नवप्रज्ञापनको शताङ्क लोकार्पित

नवप्रज्ञापनको शताङ्क लोकार्पित

काठमाडौँ । विगत ३१ वर्षदेखि प्रकाशित हुँदै आएको नवप्रज्ञापन त्रैमासिकको शताङ्क अर्थात् १०० अङ्कको लोकार्पण भएको छ ।

प्रमुख अतिथि, प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य, नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व केन्द्रीय अध्यक्ष तथा रचना द्वैमासिक पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरेले ‘नवप्रज्ञापन शताङ्कसम्म आइपुग्नमा सम्पादक नवराज रिजालको अथक मेहनत रहेको बताए। उनले सरकारले साहित्यिक पत्रकारितालाई निरन्तर उपेक्षा गरिरहेकोआरोप लगाए ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि, प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य, प्रतिनिधि सभाका सांसद माननीय रघुजी पन्तले साहित्यिक पत्रकारितामा नवप्रज्ञापन एउटा कोशेढुङ्गा साबित भएको बताउँदै साहित्यिक पत्रकारिताले झेल्नुपरेका कठिनाइविरुद्ध एकजुट भएर सबै लाग्नुपर्नेमा जोड दिएका छन् । आफूले साहित्यिक पत्रकारितालाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर अभियान र बहस चलाएको स्मरण गर्दै यसबारेमा नीति निर्माण गर्ने तहमा आफूले आवाज उठाउने बताए ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि, नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष, जनमत मासिकका प्रधान सम्पादक मोहन दुवालले साहित्यिक पत्रकारिताको इतिहासमा नवप्रज्ञापनले नयाँपन ल्याएको कुरा बताए । यसरी सय अङ्कसम्म नवप्रज्ञापन आइपुग्नु सामान्य कुरा होइन, अनेकौँ छुद्रयाइ गर्नेका बिच पनि सजग भएर साहित्यिक पत्रकारितालाई अघि बढाएका छौँ उनले भने । विज्ञापन, बिक्री वितरण र उल्लेख्य पाठकको अभावमा पनि सबैको मन जित्ने गरी नवप्रज्ञापनले सय अङ्क प्रकाशन गर्नु महत्त्वपूर्ण कुरा भएको बताए ।

यसै सिलसिलाका अतिथि,नेपाल साहित्यिक पत्रकार सङ्घका सदस्य तथा नारीस्वर त्रैमासिक साहित्यिक पत्रिकाका प्रधान सम्पादक हिरण्यकुमारी पाठकले साहित्यिक पत्रकारिता कुनै आर्थिक लाभ नभइ सेवा भएको बताइन । उनले मेरो अनुभवमा साहित्यिक पत्रिका व्यक्तिको चाहनाले मात्रै टिकेको छ । यसरी नवप्रज्ञापनले लामो मेहनतका साथ सय अङ्क प्रकाशन गरेकोमा खुसी प्रकट गर्दै शुभकामना व्यक्त गरिन ।

नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय सदस्य तथा हिमाली सौगात द्वैमासिकका प्रधान सम्पादक डा. शैलेन्दु नेपालले स्वागत मनतव्यको क्रममा नवप्रज्ञापन पृथक शैलीका साथ नेपाली भाषामा प्रकाशित हुँदै आएको र यसले छुट्टै इतिहास बनाउन सकेकोमा आभार प्रकट गरे ।

यसैगरी लोकार्पण कार्यक्रमका अध्यक्ष तथा नवप्रज्ञापनका सम्पादक÷प्रकाशक नवराज रिजालले आफ्नो चहाना र खुसीले विगत ३१ वर्षदेखि नवप्रज्ञापनको सम्पादन तथा प्रकाशन गरेको बताए । उनले कसैको दबाब नभएर आफ्नै बलबुताले जे सकेँ, त्यही ढङ्गले यस पत्रिकालाई निरन्तरता दिँदै आएको जानकारी दिए । पत्रिका के कस्तो लाग्छ यसको जिम्मा विज्ञ, पाठक र शुभचिन्तकलाई पस्किएको छु । सकेसम्म नवप्रज्ञापनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु उनले भने । नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय उपमहासचिव समेत रहेका रिजालले नवप्रज्ञापनको शताङ्कसम्म आउँदा जजसले आत्मिक सहयोग र सद्भाव पुर्याउँदै आएकाहरूप्रति धन्यवाद दिँदै साहित्यिक पत्रकारिता आफ्नो ढुकढुकी भएकाले जीवनभर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली भाषामा मधेस प्रदेशको बारा जिल्लाबाट प्रकाशित नवप्रज्ञापनले विभिन्न आरोहअवरोहबिच शताङ्क प्रकाशन गरिसकेको छ । यसले बेलाबखत विभिन्न विशेषाङ्क प्रकाशन गर्दै आएको छ । यसैक्रममा नवप्रज्ञापनले २०८० साल, वैशाख–असार अङ्कलाई शताङ्कको रूपमा प्रकाशित गरेको छ । यसमा साहित्यिक पत्रकारिता विषयक ११८ वटा लेख–रचनाहरू समावेश गरिएको छ । प्रकाशन आराम्भदेखि नै नेपालका विभिन्न भाषाका रचनाहरूलाई स्थान दिँदै आइरहेको यस पत्रिकाको यो २२ ओैँ विशेषाङ्क हो । यी विशेषाङ्कहरू साहित्यिक पत्रकारिताको लागि सन्दर्भ सामग्री बनेका छन् । यस शताङ्कको पृष्ठ सङ्ख्या ५८० रहेको छ।

सम्बन्धित खबरहरु

Skip to content