ओखलढुङ्गान्युज । मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको उपाधी इलामले जितेको छ । शनिवार भएको फाइनल खेलमा संखुवासभा जिल्लालाई ३–० गोलले पराजित गर्दै इलामले उपाधी जितेको हो ।
उपाधी जित्दै इलामले नगद रु. २ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । फाइनल प्रतिस्पर्धामा पराजित हुदै संखुवासभाले उपविजेतामा चित्त बुझाएको छ । उपविजेता हुदै संखुवासभाले नगद रु १ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र हात पारेको छ ।
इलामले ५९ औं मिनेटमा विशाल तामाङले गोल गर्दै अग्रता दिलाए । त्यसपछि ७९ औं मिनेटमा युवराज राईले र ८४ औं मिनेटमा विनोद धमलाले गोल गरे ।
फाइनल खेलका म्यान अफ दी म्याच इलामका पिकेश लोक्ताम बने । उनले नगद रु ४ हजारका साथमा मेडल प्राप्त गरे । प्रतियोगितामा बेस्ट गोल किपर इलामका मौसम मगर बने । बेष्ट डिफेन्डर इलामका आयुश तिमल्सिना, बेष्ट मिड फिल्डर संखुवासभाका परशु राई, बेष्ट स्ट्राइकर संखुवासभाका मन्दिप राई बन्न सफल भए । विधागत तर्फ उत्कृष्ठ भएका खेलाडीहरुलाई नगद रु. ५ हजार ५ सय सहित ट्रफि प्रदान गरिएको छ ।
त्यसैगरी बेष्ट कोच इलामका छिरिङ पासाङ, हाइग स्कोरर ओखलढुङ्गाका खेलाडी संजय गुरुङ बनेका छन् । उनीहरुलाई पनि जनही नगद रु. ५ हजार ५ सय सहित ट्रफि र मेडल प्रदान गरिएको थियो । प्रतियोगिताको मेन अफ दी सिरिजको उपाधी भने इलामका खेलाडी बिशाल तामाङ बने । तामाङले नगद रु. १० हजार सहित ट्रफि र मेडल प्राप्त गरे । प्रतियोगिताको विजेताहरुलाई सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल तथा अन्य उपस्थित अतिथिहरुले नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।