काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० मा गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले माघ १८ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति सिफारिस गरेको थियो । ४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले बैशाख ३० मा एकै चरणमा चुनाव गर्ने निर्णय गरेको हो ।
बैशाख ३० गते चुनाव गर्दा ४७० पालिकाका जनप्रतिनिधिको कार्यकाल छोटिएको छ । २०७४ वैशाख ३१ मा निर्वाचन भएका बागमती, गण्डकी र कर्णाली प्रदेशका ३४ जिल्लाका जनप्रतिनिधिले मात्रमा पाँच वर्षे कार्यकाल पूरा हुनेछ ।
स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल २०७९ जेठ ५ मा सकिनेछ ।