काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले पार्टीको महासचिव पदमा दाबी गरेको बताएका छन् । चीनमा उपचार गरी सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पुनले महासचिवको स्वाभाविक दाबेदार भएको बताए हुन् ।
उनले विगतमा पार्टीमा सचिव भएर काम गरेकोले महासचिवमा दाबेदारी स्वभाविक रहेको बताए । आँफूले दाबेदारी प्रस्तुत गर्दा पार्टीभित्रको सहमतिलाई पनि स्वीकार गर्ने पुनले बताए ।
यस्तै, नेता पुनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएको अवस्थाले आन्तरिक एकता र समझदारीमा पाएको जिम्मेवारी आफुले स्वीकार गर्ने बताएका छन् ।
वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो ।
चीनमा उपचार गरेर स्वदेश फर्किएका नेता पुनलाई स्वागतका लागि नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज लगायतका नेता तथा कार्यकताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।