योग्यता नभएका व्यक्ति महाधिवेशन प्रतिनिधी सिफारिस गरेको भन्दै एमाले मुख्यालयमा उजुरी

ओखलढुंगा । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी गराइने प्रतिनिधि छनौट गर्न जिल्लाबाट अयोग्य व्यक्ति सिफारिस गरिएको भन्दै एमाले अध्यक्ष केपी ओलि समक्ष उजुरी परेको छ ।

नेकपा एमाले ओखलढुंगाले महाधिवेशन प्रतिनिधी कायम गर्न पार्टीको विधान अनुसार योग्य नभएका व्यक्ति सिफारिस गरिएको भन्दै लिलादेवी धमलाले एमाले मुख्यालयमा उजुरी दर्ता गरेकी हुन् । धमला महाधिवेशन प्रतिनिधी छनौट प्रकृयामा सहभागी हुन उम्मेदवारी दर्ता गरेकी नेतृ हुन् ।

उनले सिद्धिचरण नगरपालिकाका उपप्रमुख इच्छाकुमारी गुरुङलाई पार्टीको विधान विपरित जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले एमाले केन्द्रमा सिफारिस गरेको पाइएपछि उजुरी गरेको बताइन् ।

जिल्लाबाट प्रतिनिधी छनौटमा उम्मेदवारी दर्ता गर्दा निर्वाचन समितिले पार्टीको विधानअनुसार योग्यता नपुगेको भन्दै गुरुङको उम्मेदवारी खरेज गरेको थियो । धमला लगायत अन्य २७ जनाको उम्मेदवारी सदर पनि सहमति गर्ने भन्दै चुनावी प्रकृया रोकेर नेताहरुले आफु निकटका व्यक्तिहरु सिफारिस गरेका थिए ।

एमालेले सदस्य संख्याका अधारमा जिल्लाबाट १२ जना प्रतिनिधि छानेको थियो । इच्छा गुरुङलाई महाधिवेशन प्रतिनिधी बनाउन प्रदेश सांसद अम्बीरबाबु गुरुङले दवाव दिएका थिए । उनीहरु नाताले दाजु बहिनी पर्ने हुन् ।

जिल्लाबाट विधान मिचेर महाधिवेशन प्रतिनिधी बनाउन असफल भएका सांसद गुरुङले महासभिव ईश्वर पोखरेल मार्फत दवाव दिएर जिल्लाबाट सिफारिस गर्न लगाइ मनोनित गर्न लागेको सुचना पाएपछि धमलाले केन्द्रीय कार्यालयमा उजुरी गरेकी हुन् ।

सिद्धिचरण नगरपालिकाका उप प्रमुख रहेकी इच्छाकुमारी गुरुङ २०७४ को स्थानीय निर्वाचन अघि शिक्षक र काँग्रेसकी सदस्य थिइन् । उनलाई उपप्रमुख उम्मेदवार बनाउन सांसद गुरुङले पहल गरेपछि पार्टी सदस्यता र उपप्रमुखको टिकट एमालेले एकैसाथ दिएको थियो ।

जिल्लाबाट छनौट हुने प्रतिनिधीको उम्मेदवारी नै अयोग्य भएपछि मनोनयनका लागि केन्द्रमा नाम सिफारिस भएको विषयमा खोज्दा कुरा गर्न एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठले टेलिफोन उठाएनन् । जिल्ला सचिव शंकर कट्वालले महाधिवेन प्रतिनिधी मनोनित स्थायी कमिटीले गरेको अपुष्ट खबर सुने पनि सिफारिसबारे जानकारी नभएको बताए । उनले भने, ‘सिफारिसबारे जानकारी छैन, मनोनित गरिएको भन्ने सुनिएको छ । सायद हुनसक्छ ।’

उता उजुरी बारे नेतृ लिलादेवी धमलाले आफु उम्मेदवार रहेको र विधान अनुसार योग्यता पुगेर उम्मेदवारी कायम रहेको सन्दर्भमा विधी र विधान मिचेर गलत कार्य गर्न खोजिएकाले रोक्न उजुरी गरेको जानकारी दिइन् । एमाले विधानमा महाधिवेशन प्रतिनिधी हुन १० वर्षदेखि निरन्तर पार्टी सदस्य रहेको व्यक्ति हुने व्यवस्था छ ।

अन्तराष्ट्रिय मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *