काठमाडौं । जल पर्यटनमा आश्रित मजदुरका लागि रिभर गाइर्ड रोजगार कार्यक्रम सञ्चालन भएको छ । नेपाल टुरिजम बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र नेपाल एशोसियशन अफ राफ्टिङ एजेन्सी (नारा) को संयुक्त पहलमा रिभर गाइर्ड रोजगार कार्यक्रम सञ्चालन भएको हो ।
कोभिड–१९ महामारीका कारण रिभर गाइर्ड व्यवसायमा आवद्ध मजदुरहरु समस्या परे भन्दै रिभर गाइडलाई नदी सरसफाइ तथा पहुँच मार्ग मर्मत सम्भारका कामसहित रोजगार प्रदान गरिएको नेपाल एशोसियशन अफ राफ्टिङ एजेन्सी (नारा)ले जनाएको छ ।
त्रिशूली, कर्णाली, र भोटेकोसी नदी सरसफाइ तथा पहुँच मार्ग मर्मतका लागि १० दिनसम्मको रोजगार प्रदान गरिने छ । अहिले त्रिशूली, कर्णाली, र भोटेकोसी नदीको किनार सरसफाइ तथा नदीको पहुँचमार्ग मर्मतको काममा भइरहेको छ ।
विगत दुई वर्षदेखि कोभिड–१९ का कारण पर्यटन उद्योग ठप्प हुदाँ रिभर गाइड, ट्रेकिङ गाइड, होटल मजदुर समस्यामा परेका छन् । समस्यामा परेका मजदुरहरुलाई चाडपर्वका समयमा केही काम पाउँदा थोरै भए पनि राहत मिलेको छ ।