२५ भदौ काठमाडौं । देशभर कोरोना संक्रमित कुल संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५७२ सहित देशभर १२ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५० हजार नाघेको हो । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४०२ महिला र ८४४ पुरुषगरी १२ सय ४६ जनामा कोरोना भाइरस पुष्टि भएको जानकारी दिएका छन् । उनले कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको बताए ।
प्रवक्ता डा गौतमले काठमाडौंमा बितेको २४ घण्टामा ४९५ जना ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा गरी उपत्यकामा ५७२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै संक्रमणमुक्त हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ ।
यसैगरी, कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ । आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ ।