November 29, 2026

छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल सम्मानित

छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल सम्मानित

काठमाडौं । छन्द–तरङ्ग, काठमाडौंले प्रदान गर्दै आएको ‘छन्दसाधना पुरस्कार–२०८३’ बाट वरिष्ठ कवि निर्मोही व्यास र युवा कवि सिर्जना अर्याल पुरस्कृत भएका छन्। संस्थाको आठौँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित विशेष समारोहमा दुवै स्रष्टालाई पुरस्कार प्रदान गरिएको हो।

वरिष्ठ समालोचक तथा काव्यशास्त्रविद् प्रा.डा. महादेव अवस्थीको प्रमुख आतिथ्य तथा प्रा.डा. रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा व्यासलाई ‘विशिष्ट छन्दसाधना पुरस्कार’ र अर्याललाई ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ प्रदान गरियो।

व्यासलाई नगद ४० हजार रुपैयाँ र अर्याललाई २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। पुरस्कार अक्षयकोष संस्थापकमध्येका प्रतिनिधि नेत्रकला ज्ञवाली र प्रा.डा. हेमनाथ पौडेलले पुरस्कृत स्रष्टाहरूलाई सम्मान गरेका थिए।

प्रमुख अतिथि अवस्थीले दुवै कविले नेपाली छन्दकविताको विकास र उन्नयनमा पुर्‍याएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको बताए। उनले छन्द–तरङ्गका संयोजकद्वय ज्ञवाली र नेपालले सिर्जना, समालोचना, प्रशिक्षण तथा उत्प्रेरणाका कार्यक्रममार्फत नयाँ पुस्तालाई छन्द साहित्यतर्फ आकर्षित गर्न गरेको प्रयासको प्रशंसा गरे।

कार्यक्रममा छन्द–तरङ्गका संस्थापक तथा संयोजक प्रा.डा. देवी नेपालले संस्थाको आठ वर्षे यात्राबारे जानकारी गराए। उनका अनुसार २०७५ सालदेखि छन्दकविता वाचन तथा श्रवणको शृङ्खला सुरु गरेको संस्थाले १९ शृङ्खलासम्म कार्यक्रम सञ्चालन गरेको थियो। कोभिड–१९ का कारण प्रत्यक्ष कार्यक्रम रोकिएपछि अनलाइन माध्यमबाट विश्वभरका २८० भन्दा बढी छन्दकविलाई प्रस्तुत गरिसकेको उनले बताए।

नेपालका अनुसार छन्दसाधना पुरस्कारलाई निरन्तरता दिन विभिन्न साहित्यकार तथा शुभेच्छुकको सहयोगमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। त्यसको ब्याज र संयोजकद्वयको थप सहयोगबाट हरेक वर्ष एक वरिष्ठ छन्दसाधकलाई ४० हजार रुपैयाँ र एक युवा छन्दसाधकलाई २० हजार रुपैयाँसहित पुरस्कृत गरिँदै आएको छ।

समारोहमा प्रविधिको माध्यमबाट छन्द–तरङ्गको आठ वर्षे यात्राको प्रस्तुति गरिएको थियो। प्रा.डा. नेपालले ‘जीवनी, व्यक्तित्व र कृतित्वका आलोकमा निर्मोही व्यास’ शीर्षकमा व्यासको व्यक्तित्व र साहित्यिक योगदानबारे चर्चा गर्दै उनलाई प्रदान गरिएको कवितात्मक सम्मानपत्र वाचन गरेका थिए। युवा कवि सिर्जना अर्यालको व्यक्तित्व र कृतित्वबारे कवि सविता बरालले प्रकाश पारेकी थिइन्।

पुरस्कार ग्रहणपछि वरिष्ठ कवि व्यासले यस सम्मानले आफ्नो छन्दसाधनालाई थप जिम्मेवारीबोध गराएको बताए। उनले रचना गरेका दुई कविता दिनेश पाण्डेय र देवु लुइँटेलले वाचन गरेका थिए। त्यस्तै, युवा कवि अर्यालले छन्दसाधनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना दुई कविता सुनाएकी थिइन्।

सभाध्यक्ष ज्ञवालीले छन्द–तरङ्ग छन्दकविताको स्तरीकरण र मानकीकरणमा मात्र सीमित नभई साहित्य सिर्जनामा अनुशासन, संस्कार, समर्पण र युगीन दायित्वबोध विकास गर्ने अभियानका रूपमा अघि बढिरहेको बताए।

कार्यक्रममा अक्षयकोष संस्थापकमध्येकी सीता भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन् भने कवि दिनेश पाण्डेयले छन्द–तरङ्ग गायन प्रस्तुत गरेका थिए। युवास्रष्टा सरोज घिमिरेले सञ्चालन गरेको समारोहमा दुई सयभन्दा बढी साहित्यकार, पत्रकार, कलाकर्मी तथा साहित्यप्रेमी सहभागी थिए।

२०७६ सालदेखि प्रदान गर्न थालिएको विशिष्ट छन्दसाधना पुरस्कार यसअघि रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने, प्रा. घनश्याम कँडेल, रामचन्द्र भट्टराई, भुवनहरि सिग्देल, गोविन्दराज विनोदी र डा. नवराज लम्सालले प्राप्त गरिसकेका छन्। त्यस्तै, २०७९ सालदेखि सुरु गरिएको युवा प्रतिभा पुरस्कारबाट सुदेश सत्याल, कविराज पौडेल, रूपक अलङ्कार र पुरुषोत्तम आचार्य पुरस्कृत भइसकेका छन्।

सम्बन्धित खबरहरु

भर्खरै