काठमाडौं । नेपाली हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धन र विकासमा सक्रिय संस्था फित्कौली र बाङ्गा अक्षरको संयुक्त आयोजनामा ‘फित्कौलीको खित्कौली सभा–५’ सम्पन्न भएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजित कार्यक्रममा पाँच जना हास्यव्यङ्ग्य स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गर्नुका साथै दुई साहित्यिक कृति लोकार्पण गरिएको छ।
वरिष्ठ हास्यव्यङ्ग्यकार प्रा. रामकुमार पाँडेको प्रमुख आतिथ्य तथा नरनाथ लुइँटेलको अध्यक्षतामा भएको कार्यक्रममा झापाका वरिष्ठ हास्यव्यङ्ग्यकार होम सुवेदीलाई ‘फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य सम्मान’ प्रदान गरियो। उनलाई सम्मानपत्रसहित २० हजार १०५ रुपैयाँ प्रदान गरिएको थियो।
त्यस्तै, हेटौंडाका सिस्नुपानीका पूर्वअध्यक्ष राजकुमार लामिछानेले ‘गोविन्द विजया–फित्कौली राष्ट्रिय प्रतिभा पुरस्कार’ प्राप्त गरे। काठमाडौंका कवि राजेन्द्रप्रसाद अधिकारीलाई ‘फित्कौली राष्ट्रिय कविता पुरस्कार’, गुल्मीका रामप्रसाद पन्थीलाई ‘फित्कौली राष्ट्रिय निबन्ध पुरस्कार’ र मकवानपुरका बुढ्यौली साहित्य अभियन्ता तथा नियात्राकार रमेशमोहन अधिकारीलाई ‘मुकुन्द–मुना बुढ्यौली साहित्य पुरस्कार’ प्रदान गरियो। यी चारै जनालाई सम्मानपत्रसहित जनही १५ हजार १०५ रुपैयाँ प्रदान गरिएको थियो।
कार्यक्रममा यसोभानु साहित्य सङ्गीत प्रतिष्ठान र फित्कौलीको सहकार्यमा प्रकाशित ‘सम्हार्जन’ तथा फित्कौली अनलाइन मिडियाबाट प्रकाशित ठाकुरप्रसाद अधिकारीको हास्यव्यङ्ग्य कृति ‘टेढो नजर’ पनि सार्वजनिक गरियो। दुवै कृति वरिष्ठ हास्यव्यङ्ग्यकार प्रा. रामकुमार पाँडे, नरेन्द्रराज पौडेल, नरनाथ लुइँटेल, डा. बमबहादुर थापा जिताली, डा. मुकेश चालिसे, डा. खगेन्द्रप्रसाद लुइँटेल र नारायण भट्टलगायतले संयुक्त रूपमा लोकार्पण गरे।
लोकार्पित कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा. कपिल अज्ञातले ‘टेढो नजर’ मा हास्य र व्यङ्ग्यको सन्तुलित संयोजन रहेको बताए। उनले यसलाई नेपाली हास्यव्यङ्ग्य साहित्यको महत्त्वपूर्ण कृतिका रूपमा चर्चा गरे। त्यस्तै, ‘सम्हार्जन’ माथि डा. नवराज खतिवडाले समीक्षा प्रस्तुत गर्दै सङ्ग्रहका ६७ निबन्धको विभिन्न कोणबाट गरिएको विश्लेषणमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे चर्चा गरे।
यस अवसरमा राजेन्द्र कार्कीले स्थापना गरेको तथा बाङ्गा अक्षरले व्यवस्थापन गरेको ‘खाइराइड हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता’ का उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कृत गरियो। प्रतियोगितामा इलामका सेमन्त आचार्य प्रथम हुँदै २० हजार रुपैयाँ र सम्मानपत्रबाट पुरस्कृत भए। काठमाडौंस्थित डियरवाक स्कुलका सुविज्ञराज पोखरेल द्वितीय हुँदै १० हजार रुपैयाँ प्राप्त गरे। त्यस्तै, कान्तिभैरव गुरुकुल स्कुलका पुष्प खरेल र काभ्रे इङ्लिस स्कुलकी स्वीकृति तामाङ संयुक्त रूपमा तृतीय हुँदै जनही पाँच हजार रुपैयाँ र सम्मानपत्रबाट पुरस्कृत भए। प्रथम भएका आचार्यलाई पुरस्कार इलाममै पुगेर प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा हास्य कलाकार सुबोध गौतमले चार राष्ट्रिय नेतामा केन्द्रित चारवटा हास्यव्यङ्ग्य कविता प्रस्तुत गरेका थिए। डिल्लीप्रसाद मूलतिहुन र टेकबहादुर कोइरालाको प्रस्तुति पनि कार्यक्रममा आकर्षण बनेको थियो। सम्मानित स्रष्टा तथा पुरस्कृत विद्यार्थीहरूले आफ्ना सिर्जना प्रस्तुत गर्दै सम्मान र पुरस्कारले लेखनमा थप प्रेरणा मिलेको बताए।
प्रमुख अतिथि प्रा. पाँडेले वर्तमान समयमा हास्यव्यङ्ग्यको सान्दर्भिकता अझ बढ्दै गएको बताए। उनले विगतमा वासुदेव र भैरवहरूले अघि बढाएको हास्यव्यङ्ग्य साहित्यको अभियानलाई अहिले फित्कौलीले निरन्तरता दिइरहेको उल्लेख गरे। एउटै कार्यक्रममा कृति लोकार्पण, स्थापित स्रष्टाको सम्मान र नयाँ पुस्ताका विद्यार्थीलाई प्रोत्साहन गर्ने अवसर मिल्नु सुखद रहेको उनको भनाइ थियो।
कार्यक्रमको सुरुवातमा अध्यक्ष नरनाथ लुइँटेलले स्वागत मन्तव्य राख्दै नेपाली हास्यव्यङ्ग्य साहित्यका अग्रज स्रष्टा भैरव, वासुदेव, पिँडाली र गोतामेको योगदान स्मरण गरे। उनले फित्कौलीको अभियानमा सहयोग पुर्याएका दिवङ्गत व्यक्तित्व लोक सुब्बा र विजय चालिसेको सम्झनामा एक मिनेट मौनधारण गर्न आग्रह गरेका थिए।
कार्यक्रममा डिल्लीबजार निवासी ८१ वर्षीय विदुरमणि दाहालले २५ हजार रुपैयाँ प्रदान गरी फित्कौलीको संरक्षक सदस्यता ग्रहण गर्ने घोषणा गरेको जानकारी पनि गराइयो। साथै, वर्षभरि फित्कौलीमा प्रकाशित राजेश मानन्धरका छनोट गरिएका कार्टुनहरूको प्रदर्शनीसमेत गरिएको थियो।
नारायण भट्टराईले ‘सम्हार्जन’ प्रकाशनको औचित्यमाथि प्रकाश पार्दै सहभागीलाई धन्यवाद दिएका थिए। कल्पना काफ्लेले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार, समीक्षक, हास्यव्यङ्ग्य स्रष्टा तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो।
भीष्म रिमाल र गरिमा लुइँटेल
तस्बिर : ध्रुवराज थापा/साधुराम खड्का