November 22, 2026

रास्वपाबाट सुनकोशी गाउँपालिका अध्यक्ष उम्मेदवारमा दीपक कार्कीको चर्चा

रास्वपाबाट सुनकोशी गाउँपालिका अध्यक्ष उम्मेदवारमा दीपक कार्कीको चर्चा

ओखलढुंगा । स्थानीय राजनीतिमा नयाँ पुस्ताको सहभागिता र नेतृत्वको बहस चलिरहेका बेला ओखलढुंगाको सुनकोशी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता दीपक कार्कीको नाम चर्चामा आउन थालेको छ। आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र उम्मेदवार छनोटको विषयले प्रवेश पाएसँगै गाउँपालिका अध्यक्ष पदका सम्भावित उम्मेदवारका रूपमा कार्कीको चर्चा हुन थालेको हो।

विद्यार्थी जीवनदेखि नै नेतृत्व क्षमता, अध्ययनशीलता र सामाजिक सक्रियताका कारण परिचित कार्की प्रबुद्ध माध्यमिक विद्यालयका उत्कृष्ट विद्यार्थी हुन् । शैक्षिक जीवनमा अब्बल पहिचान बनाएका कार्कीले राजनीतिशास्त्रको अध्ययनसमेत गरेका छन् । अध्ययन, व्यवसाय र सामाजिक गतिविधिलाई सँगसँगै अघि बढाउँदै आएका उनी युवा व्यवसायीका रूपमा समेत परिचित छन् ।

स्थानीय विकास, विशेषगरी सडक पूर्वाधार विस्तार तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका कार्की सुनकोशी गाउँपालिकाको भौगोलिक अवस्था, विकासका सम्भावना र स्थानीय आवश्यकताबारे जानकार युवा नेताका रूपमा चिनिन्छन् । स्थानीयस्तरमा युवाहरूसँगको सम्बन्ध, सामाजिक गतिविधिमा सहभागिता र विकासका सवालमा देखाउने चासो विषय उनको राजनीतिक परिचयका महत्त्वपूर्ण पक्षका रूपमा हेरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै संगठन निर्माण र पार्टीका गतिविधिमा सक्रिय रहँदै आएका कार्कीले कुनै पदको अपेक्षाभन्दा संगठनप्रतिको प्रतिबद्धतालाई प्राथमिकता गर्छन्। पार्टीको प्रारम्भिक चरणदेखि विभिन्न गतिविधिमा निरन्तर संलग्न रहनुलाई उनको राजनीतिक यात्राको महत्त्वपूर्ण पक्षका रूपमा लिइएको छ।

यसैबीच, रास्वपाभित्र सुनकोशी गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवार छनोटको आन्तरिक प्रक्रिया र सम्भावित नामबारे छलफल भइरहेको छ। स्रोतका अनुसार उम्मेदवार बन्ने आकांक्षा राखेका कार्की र अर्का आकांक्षीबीच आन्तरिक प्रतिस्पर्धा छ । यद्यपि, संगठनात्मक सक्रियता, पार्टीप्रतिको निरन्तरता र स्थानीयस्तरको सम्बन्धलाई आधार बनाएर कार्कीको नाम सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेको छ।

कार्कीले उम्मेदवारी पाएमा पार्टीको संगठनभित्र मात्र नभई अन्य राजनीतिक पृष्ठभूमिका युवाहरूबीच पनि समर्थन जुट्न सक्ने आकलन गरिएको छ। कार्की विद्यार्थी जीवनदेखि नै युवाहरूसँग घुलमिल भएका र विकासका विषयमा चासो राख्ने व्यक्ति हुन् । उनी उम्मेदवार बनेमा विभिन्न राजनीतिक धारमा रहेका युवाहरूको समेत साथ पाउने सम्भावना छ ।

सुनकोशी गाउँपालिकामा बदलिँदो राजनीतिक चेतना, युवा नेतृत्वप्रतिको चासो र स्थानीय विकासका अपेक्षाबीच कार्कीको नाम चर्चामा आउनुलाई स्थानीय राजनीतिक वृत्तले चासोका साथ हेरेको छ । यद्यपि, उम्मेदवार छनोटको अन्तिम निर्णय भने पार्टीको आधिकारिक प्रक्रियाबाटै हुनेछ ।

रास्वपाले उम्मेदवारको टुंगो लगाउन बाँकी रहेकाले कार्कीको उम्मेदवारी औपचारिक रूपमा निश्चित भइसकेको छैन। तर, पार्टीको प्रारम्भिक संगठनात्मक यात्रादेखि सक्रिय रहँदै आएका उनको नाम अध्यक्ष पदका सम्भावित उम्मेदवारका रूपमा चर्चामा आउनुले सुनकोशीको आगामी राजनीतिक समीकरणबारे चासो बढाएको छ।

सम्बन्धित खबरहरु

भर्खरै