काठमाडौं । रसुवामा बाढीका कारण प्रभावित विभिन्न स्थानमा फसेका १२ जनाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार रसुवाका विभिन्न ठाउँबाट बाढीमा फसेका १२ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाका ४ वटा र निजी कम्पनीका ८ वटा गरी १२ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेनाले हवाई माध्यमबाट उद्धार तथा राहतका गतिविधि सञ्चालन गरिरहेको जनाएको छ।
यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा समेत सुरु गरेको छ। बाढी तथा विपद्का कारण घाइते वा स्वास्थ्य समस्या भएका प्रभावितलाई तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा स्वास्थ्य उपचारका कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।


