October 16, 2026

रसुवाको बाढीले विद्युत आपूर्ति प्रभावित

रसुवाको बाढीले विद्युत आपूर्ति प्रभावित

काठमाडौं । रसुवामा बुधबार आएको बाढीले जलविद्युत आयोजना तथा प्रसारण संरचनामा क्षति पुर्‍याएपछि रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। यस्तै, त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनासमेत प्रभावित भएका छन्।

विद्युत उत्पादन, प्रसारण र वितरणका महत्वपूर्ण संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ भने केही क्षेत्रमा प्रभावित बनेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले क्षतिग्रस्त संरचनाको अवस्था मूल्यांकन गर्दै विद्युत आपूर्ति यथाशीघ्र नियमित गर्ने प्रयास भइरहेको जनाएको छ। आपूर्ति सामान्य अवस्थामा नफर्किएसम्म उपभोक्तालाई धैर्य गर्नसमेत आग्रह गरिएको छ।

बाढीबाट विद्युत संरचनाबाहेक घर, सडक र पुललगायतका भौतिक पूर्वाधारमा समेत क्षति पुगेको प्रारम्भिक विवरण छ। क्षतिको वास्तविक अवस्था र परिमाणबारे विस्तृत विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, बाढीको जोखिम कायम रहेकाले नदी तथा खोलाको आसपास र जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। प्राधिकरणले आधिकारिक सूचनामात्र विश्वास गर्न र अपुष्ट समाचार तथा अफवाहको पछि नलाग्नसमेत अनुरोध गरेको छ।

रसुवाको पछिल्लो बाढीले जलविद्युत उत्पादनदेखि प्रसारण र वितरणसम्मको संरचनामा असर पुर्‍याएपछि जिल्लाको विद्युत प्रणालीमा थप चुनौती देखिएको छ। प्रभावित संरचनाको मर्मत तथा पुनःस्थापनाले विद्युत आपूर्ति नियमित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

सम्बन्धित खबरहरु

भर्खरै