October 16, 2026

एसियन स्मार्ट एग्रोको अन्तरक्रियामा किसानका समस्या र सम्भावनामाथि छलफल

एसियन स्मार्ट एग्रोको अन्तरक्रियामा किसानका समस्या र सम्भावनामाथि छलफल

सिराहा । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सिराहाको गोलबजारस्थित होटल पावन मिथिलामा सम्पन्न भएको छ । कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिकीकरण तथा किसानका समस्या र सम्भावनाबारे केन्द्रित कार्यक्रम कम्पनीका अध्यक्ष प्रवीणकुमार लामाको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा कम्पनीका सञ्चालक चन्द्रमोहन श्याङ्वाले सहभागी किसान, कृषि व्यवसायी तथा सरोकारवालाहरूलाई स्वागत गर्दै कृषि क्षेत्रको दिगो विकासका लागि सामूहिक सहकार्य आवश्यक रहेको बताए ।

प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका उपसभापति दिलीपकुमार लामाले कृषि क्षेत्रको रूपान्तरणका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै किसानको उत्पादन र आम्दानी वृद्धि गर्न आधुनिक कृषि प्रणाली अपनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा पशु विज्ञ जगत यादवले परम्परागत खेती प्रणालीबाट माथि उठेर व्यावसायिक कृषि अपनाउन किसानहरूलाई सुझाव दिए । उनले आधुनिक प्रविधिको प्रयोग, उत्पादन व्यवस्थापन तथा बजारमुखी खेतीमार्फत कृषि व्यवसायलाई थप लाभदायी बनाउन सकिने बताए ।

त्यसैगरी कम्पनीका सञ्चालक प्रदीप यादवले एसियन स्मार्ट एग्रोका आगामी योजना तथा किसान लक्षित कार्यक्रमबारे जानकारी गराउँदै कम्पनी किसानको हित र कृषि क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए ।

अन्तरक्रियामा सहभागी किसानहरूले कृषि उत्पादनको बजारीकरण, बाली बीमा, शीत भण्डार (कोल्ड स्टोर) स्थापना तथा सहुलियतपूर्ण कृषि कर्जामा पहुँच विस्तारका विषयमा आफ्ना सुझाव राखेका थिए । उनीहरूले कृषि क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि कम्पनीले समन्वयकारी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट व्यावसायिक र प्रतिस्पर्धी बनाउने विषयमा समेत व्यापक छलफल भएको थियो ।

सम्बन्धित खबरहरु

भर्खरै