काठमाडौंँ । दुराजातिको नयाँ वर्ष ‘म्हेपु नकुमा’ (खाजा खानेपर्व) सम्पन्न भएको छ । ठुलो भर्याङ्ग स्वयम्भू , काठमाडौंमा दुराहरूको सांस्कृतिक पर्व ‘म्हेपु नकुमा’ एक समारोहबीच सम्मन्न भएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान कुलपति भुपाल राईले शुभकामना आदानप्रदान गर्दै अल्पसङ्ख्यक दुराको सम्मान गर्ने तरिका किरातीजातिसँग मिल्दोजुल्दो रहेको बताए । उनले दुरा र किरातीहरूको इतिहास र संस्कृतिबारे तुलनात्मक खोजअनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् । अब दुराजातिको इतिहास अरूले नभएर दुराजातिले नै लेख्नुपर्ने उनको भनाइ छ । हिजो इतिहासमा शाहवंशलाई राजाको रूपमा उभ्याउन सफल दुरालाई तिनीहरूले ऋण तिरेकी तिरेनन, त्यसको हिसाबकिताब ऐतिहासिक, प्राज्ञिक, सांस्कृतिक र भाषिक दृष्टिकोणले मूल्याङ्कन गर्दै अघि बढ्न उनले सुझाव दिए । यसैक्रममा ‘दुराहरूको भाषा पनि सङ्कटापन्न अवस्थामा रहेको र भाषा मर्नु भनेको सम्पदा मर्नु हो’ उनले भने ।
यस कार्यक्रममा दुराडाँडा सेवा समाजका अध्यक्ष देवीप्रसाद न्यौपाने, श्रीकान्त अधिकारी प्रतिष्ठानका सचिव देशबन्धु अधिकारी, दुरा सेवा समाजका केन्द्रीय सल्लाहकार डा.दुर्गाबहादुर दुरा, दुरा महिला समाजका केन्द्रीय अध्यक्ष नरमाया दुरा र मादी मर्स्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायणबहादुर अधिकारी लगायतले शुभकामना मनतव्य राखेका थिए ।
यसैगरी दुरा समाजका केन्द्रीय अध्यक्ष सुरेशकुमार दुराले आफ्नो समापन मनतव्यका क्रममा ५, ८८१ (पाँच हजार आठ सय एकासी) जना मात्र जनसङ्ख्या रहेको अल्पसङ्ख्यक दुराजातिको पर्व ‘म्हेपु नकुमा’ लाई राष्ट्रिय पर्वको रूपमा मान्यता दिँदै सरकारी पात्रोमा उल्लेख गर्नुपर्ने र दुराजातिको खोजअनुसन्धानलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
यस कार्यक्रमको स्वागत मनतव्य दुरा सेवा समाज काठमाडौँ उपत्यकाका उपाध्यक्ष मनबहादुर दुरा र दुरा सेवा समाज काठमाडौँ उपत्यकाका सचिव ज्ञानबहादुर दुराले कार्यक्रम संचालन गरेका छन् ।