काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभाग र सृजनशील मञ्च सुदूरपश्चिमको सहकार्यमा आयोजित धनगढी कविता उत्सव सम्पन्न भएको छ । धनगढीमा आयोजित उत्सवमा सुदूरपश्चिमका विविध भाषाहरूका प्रतिनिधि कविताहरूको विशेष प्रस्तुतिसहित पुस्तान्तर कविता सेसन अन्तर्गत नेपाली, डोटेली र थारु भाषाका तीन पुस्ताका बाह्र कविहरूका कविता प्रस्तुत गरि उत्सव मनाइएको हो ।
उत्सवका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले स्रष्टा र प्राज्ञिक व्यक्तिहरूको अपेक्षा र सुझावअनुरूप प्रदेश सरकार र मन्त्रालयले काम गर्ने बताए ।
यसैगरी धनगढी कविता उत्सवका विशिष्ट अतिथि, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले प्रज्ञा–प्रतिष्ठानले साहित्यमार्फत मोफसल र केन्द्रलाई जोड्ने गरी कार्यक्रम ल्याएको बताए। उनले सङ्घीय गणतन्त्र नेपालको संविधानले सबै भाषाभाषी र सबै जातजातिलाई समान र समावेशी मानेको छ, प्रज्ञा–प्रतिष्ठानले त्यसैअनुरूप किनाराकृत जातजातिका भाषा, साहित्य, संस्कृति र कलाका क्षेत्रलाई समेट्ने गरी ‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल नाराका साथ समग्रमा अघि बढेको बताएका छन् । बस्नेतले कवितामा सीमान्तकृत आवाज, समग्र लैङ्गिक विभेदको समाधान, जातीय विभेद विरुद्धको स्वर, नारी अस्तित्व बोधगम्य, भौगोलिक विभेदलाई समेत ध्यान दिई प्रज्ञा–प्रतिष्ठानले मालिक र नोकर बिचको विभेदलाई चिर्दै
सबैको स्वामित्व बोध गराउने लक्ष्य लिएर कविता महोत्सव–२०८० लाई समावेशी र बहुभाषिक बनाए बताए ।
अर्का विशिष्ट अतिथि, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल नाराका साथ प्रज्ञा–प्रतिष्ठान अग्रसर भइरहेको बताइन् । उनले सङ्घीय गणतन्त्र नेपालको संविधानले सबै जातजाति र भाषाभाषीलाई समान मानेकाले समावेशी सिद्धान्तअनुरूप राष्ट्रिय कविता महोत्सवको आयोजना गरिएको बताएकी छन् । उनले भनिन् ‘इतिहासदेखि वर्तमानसम्म भाषा र साहित्यमा उर्बर रहेको सुदूरपश्चिम क्षेत्रको यसपटक महोत्सवमा महत्त्वपूर्ण उपस्थिति रह्यो । यसलाई हामीले गौरवको रूपमा लिएका छौँ । साथै,भाषा, साहित्य, संस्कृति, कला, सामाजिक शास्त्र र दर्शन शास्त्र लगायतका विषयमा प्राज्ञिक खोजअनुसन्धान गर्ने योजना रहेको छ ।’
यसैगरी विशिष्ट अतिथि सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावलले प्रज्ञा–प्रतिष्ठानले सुदूरपश्चिमको भाषा, साहित्य, संस्कृति, कला, इतिहास, दर्शनशास्त्र तथा सामाजिक शास्त्र लगायतका क्षेत्रमा गहिरो अनुसन्धान गर्नुपर्ने बताए ।
यसैक्रममा ‘समकालीन नेपाली कवितामा सुदूरपश्चिमको अनुहार’ विषयक कार्यपत्र कवि खेम बतासले प्रस्तुत गरेका थिए भने लेखक जगदीश ओझाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । कविताको समग्र अवस्था र कार्यदिशाबारे समालोचक विष्णु ज्ञवालीले विमर्श गरेका थिए । सुदूरपश्चिमका प्रतिनिधि कविताबारे सहप्राध्यापक हरिकृष्ण कडायतले समीक्षा गरेका थिए ।
सृजनशील मञ्च, सुदूरपश्चिमका सचिव एवम् लेखक डिल्लीराज ओझाले सहजीकरण गर्नुभएको यस उत्सवमा मञ्चका अध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य जनक रसिकको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मञ्चका अध्यक्ष तथा प्राज्ञसभा सदस्य रसिकले सुदूरपश्चिममा भाषा साहित्य तथा प्राज्ञिक क्षेत्रको उन्नयनका लागि निरन्तर गतिविधि गर्ने योजना अनुरूप धनगढी कविता उत्सव आयोजना गरिएको बताएका छन् ।
धनगढी कविता उत्सवमा सुदूरपश्चिम क्षेत्रका साहित्यिक, सांस्कृतिक एवम् शैक्षिक सङ्घ–संस्थाका प्राज्ञिक प्रतिनिधिहरू र सर्जकहरूलगायत करिब दुई सय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।