काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले प्राज्ञहरुलाई साहित्यिक पत्रकारिताले नै फुल्ने र फल्ने अवसर दिएको बताएका छन् । बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात हलमा आयोजित नेपाल साहित्यिक पत्रकार सङ्घको १७ ओैँ स्थापना दिवस तथा सम्मान समारोहमा बाल्दै उनले साहित्य पत्रकारिताले सबै प्राज्ञहरुलाई फुल्ने र फल्ने अवसर दिएको बताएका हुन् ।
समारोहका प्रमुख अतिथि तथा प्रतिष्ठानका कुलपति राईले नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा स्थापित ‘विशिष्ट राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान–२०८०’ र ‘राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान–२०८०’ वरिष्ठ साहित्यिक पत्रकारहरूलाई प्रदान गरेका छन् ।
‘विशिष्ट राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान–२०८०’ अभिव्यक्ति द्वैमासिक (२०२७) साहित्यिक पत्रिकाका प्रधान सम्पादक÷प्रकाशक नगेन्द्रराज शर्माले साहित्यिक पत्रकारितामा अतुलनीय योगदान पुर्याएवापत सम्माननित भएका छन् । यसैगरी आँजुर द्वैमासिक मैथिली साहित्यिक पत्रिकाका सम्पादक÷प्रकाशक राम भरोस कापडि भ्रमर, हाम्रो सिर्जना त्रैमासिक साहित्यिक पत्रिका (२०५३)का सम्पादक÷प्रकाशक डी.आर.पोखरेल, नारीस्वर त्रैमासिक साहित्यिक पत्रिका (२०५४) का सम्पादक÷प्रकाशक हिरण्यकुमारी पाठक, हिमाली गुराँस द्वैमासिक साहित्यिक पत्रिका (२०५४) का सम्पादक÷प्रकाशक खिमानन्द पोखरेलले ‘राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान–२०८०’ द्वारा सम्मानित भएका छन् ।
यसअवसरमा प्रमुख अतिथि कुलपति राईले ‘हामी नेपाल प्रज्ञा–प्रतिष्ठानका सम्पूर्ण प्राज्ञहरू साहित्यिक पत्रकारिताकै परिणाम भएको बताए । उनले यसैबाट फुलेका, फलेका र प्रस्फुटित दिएका छन् । उनले आफ्नो नेतृत्वको प्रज्ञा–प्रतिष्ठानले साहित्यिक पत्रिका सहयोग कोषलाई निरन्तरता दिँदै नेपाली भाषा र नेपाली मातृभाषा साहित्यिक पत्रकारिताका विशिष्ट एवम् वरिष्ठ दुई जना साहित्यिक पत्रकारलाई जनही राशि रू पचास÷पचास हजारसहित पुरस्कृत एवम् सम्मानित गर्ने निर्णय गरेको बताए । साथै, प्रज्ञा–प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषा मास्न खोज्यो भन्ने मिथ्या आरोप निन्दनीय रहेको बताए ।
नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष तथा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले आफू सम्मानित हुन लागेको यस सुखद क्षणमा पनि स्वास्थ्यको प्रतिकूलताका कारण उपस्थित हुनकोमा दुःख व्यक्त गरेका छन् । शर्माले शुभकामनापत्रमार्फत भनेका छन्, ‘सङ्घले १७ औँ स्थापना दिवस मनाइरहँदा साहित्यिक पत्रकारिताले भोग्नु परेका जटिलताबारे निर्क्योल पुर्याउन सकोस् । यसप्रति आफू सदा तत्पर छु ।’
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष रोचक घिमिरेले ‘प्रज्ञा–प्रतिष्ठानले साहित्यिक पत्रिकालाई दिँदै आएको अनुदान तथा सहयोगलाई निरन्तरता दिई साहित्यिक पत्रकारिताका विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत गर्ने निर्णय गरेकोमा आफैँमा महत्त्वपूर्ण कदम रहेको बताए । उनले प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषाको विद्यमान गरिमालाई बचाउँदै सबै जातजातिका भाषा र साहित्यको उन्नायन गर्नुपर्नेमा जोड दिए । घिमिरेले विश्वविद्यालय र क्याम्पसका डिग्री र पिएचडीका विद्यार्थीहरूका परीक्षाजन्य थेसिसहरू यसप्रतिष्ठानबाट प्रकाशित गर्न नहुने भन्दै ऐतिहासिक र अनुसन्धानात्मक कृतिहरू प्रकाशन गर्नमा ध्यानदिनुपर्ने जोड दिए ।
यसैक्रममा समारोहका विशेष अतिथि, सङ्घका निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेलले जब नेपाल साहित्यिक पत्रकार सङ्घको स्थापना भयो, तब साहित्यिक पत्रकारिताको समस्याको पहिचान, संस्थागत विकास र साहित्यिक पत्रकारको सम्मानमा जोड दिँदै आएको बताए ।
यसैगरी समारोहका अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले नेपाल साहित्यिक पत्रकार सङ्घसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको छ । यसले गर्दा आफूले सकेसम्म साहित्यिक पत्रकारिताका विषयमा भूमिका खेल्ने बताए ।
यस्तै समारोहका अतिथि एवम् साहित्यिक पत्रकार सङ्घका सभापति राधेश्याम लेकालीले आफूले पनि साहित्यिक पत्रकारितालाई जीवनको अभिन्न अङ्गको रूपमा आत्मसात् गरिसकेकाले यसको इतिहासलाई अक्षुण्ण राख्दै एकआपसमा सहकार्य र एकता गर्न सकिने बताए ।
यसैगरी सम्मानित व्यक्तित्व वरिष्ठ साहित्यिक पत्रकार, मैथिली साहित्यिक पत्रिका ‘आँजुर’ द्वैमासिकका सम्पादक तथा मधेस प्रज्ञा–प्रतिष्ठानका कुलपति रामभरोस कापडि भ्रमरले आफूले तिसको दसकदेखि साहित्यिक पत्रकारिता गर्दै आएपनि यस हैसियतमा कसैले खोजी गरेनन् तर आज नेपाल साहित्यिक पत्रकार सङ्घले मैथिली भाषामा साहित्यिक पत्रकारिता गरेबापत जुन सम्मान प्रदान गर्यो, यसबाटआफू ज्यादै हर्षित भएको बताए ।
अर्का सम्मानित व्यक्तित्व वरिष्ठ साहित्यिक पत्रकार, हाम्रो सिर्जना साहित्यिक त्रैमासिकका सम्पादक डी.आर.पोखरेलले आफू पनि साहित्यिक पत्रकारको हैसियतमा सम्मानित हुन पाउँदा गौरवबोध भएको बताए । उनले भने ‘अझ जिम्मेवारी बढेको महसुस भएको छ ।’
यसैगरी अर्का सम्मानित व्यक्तित्व, वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यिक पत्रिका नारीस्वर द्वैमासिकका सम्पादक हिरण्यकुमारी पाठकले नेपाल साहित्यिक पत्रकार सङ्घबाट सम्मानित हुँदा साहित्यिक पत्रकारितामा थप प्रेरणा मिलेको बताइन् । उनले साहित्यिक पत्रकार अलग रहेर होइन, एकआपसमा एकीकृत भावनासहित एकठाउँमा सबै उभिनुपर्नेमा जोड दिइन् ।
यसैगरी नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा समारोहका सभापति मोहन दुवालले प्रज्ञा–प्रतिष्ठानको वर्तमान नेतृत्वले साहित्यिक पत्रकारिताका प्रतिभाहरूलाई प्रोत्साहित गर्ने गरी पुरस्कार स्थापना गर्नु एउटा उपलब्धि भएको बताए । उनले साहित्यिक पत्रिकाको अनुदान रोकियो रे भन्ने भ्रम फैल्याउने पनि बजार धेरै रहेको बताए, तर विगतमा साहित्यिक पत्रिकाले प्राप्त गरेको अनुदानले पनि निरन्तरता पाउने कुरामा आफू ढुक्क भएको बताए । साहित्यिक पत्रिकाको रूपमा आधिकारिक दर्ता भई सञ्चालनमा रहेका अनलाइन साहित्यिक पत्रिकालाई पनि क्रमशः समेट्ने योजना रहेको बताउँदै प्रज्ञा–प्रतिष्ठानले नेपालीलगायत नेपालमा बोलिने सम्पूर्ण मातृभाषा र साहित्यको विकासमा विशेष योगदान पुर्याउनु पर्नेमा जोड दिए ।
यस अवसरमा स्वागत मनतव्यका क्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकी भने ‘नेपाल साहित्यिक पत्रकार सङ्घले साहित्यिक पत्रकारहरूलाई एकआपसमा समेटेर एकताबद्द भएको छ ।’ उनले यो नै सङ्गठनका लागि महत्त्वपूर्ण कुरा रहेको बताए ।
यसैगरी सङ्घका उपाध्यक्ष रामप्रसाद पन्तले धन्यवाद ज्ञापनका क्रममा साहित्यिक पत्रकारको आकर्षणको केन्द्रको रूपमा रहेको बताए । नेपाल साहित्यिक पत्रकार सङ्घको विकल्प छैन् । यसलाई आात्मसात् गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।
यसैक्रममा सङ्घका उपाध्यक्ष बालिका गिरीले सम्मानित साहित्यिक पत्रकारहरूको सम्मानपत्रको बेहोरा बाचन गर्दै यसअवसरका लागि बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।
सङ्घका महासचिव चेतनाथ धमलाले कार्यक्रम सञ्चालनका क्रममा सातै प्रदेशमा नेपाल साहित्यिक पत्रकार सङ्घको प्रादेशिक संरचना रहेको र साहित्यिक पत्रकारिताको उन्नायनमा अनेकौँ पहलकदमी लिएको बारे प्रष्ट पारे ।
नेपाल साहित्यिक पत्रकार सङ्घका कोषाध्यक्ष सूर्यप्रसाद लाकोजूले सम्मानित एवम् वरिष्ठ साहित्यिक पत्रकारको योगदान र व्यक्तित्त्वबाट आफू झनै प्रेरित रहेको बताए ।