March 16, 2025

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

शंकर भुजेल
काठमाडौँ ।
असार महिनालाई मानो रोपेर मुरी फलाउने महिनाको रुपमा लिइन्छ । यस महिनामा पनि असार १५ विशेष दिन हो । यो दिन पानी परे पनि, नपरे पनि धान रोप्ने, हिलो खेल्ने, दही चिउरा खाने चलन चल्दै आएको छ ।  ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूलनाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस दिवस मनाइँदै छ । 

आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै धान रोप्ने चलन छ । नेपालमा वि.सं. २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार वि.सं. २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ । धानको यिनै विविध महत्त्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकरण गर्न दिवस बनाउन लागिएको कृषि विभागले जनाएको छ ।

जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचारप्रसार गरी अवलम्बन गर्न यस्ता दिवस र महोत्सव सहायकसिद्ध हुने मन्त्रालयको विश्वास छ ।

नेपालमा धानखेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वरभूमि मानिन्छ । पछिल्लो समय उन्नत जातको धानखेतीका लागि सरकारले कृषकलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवर्द्धनमा पनि जोड दिँदै आएको छ ।

दहीचिउराको संस्कृति

असार १५ गतेलाई नेपाली समाजमा दहीचिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरूले आज दहीचिउरा खाई असार १५ मनाउँछन् ।

औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीचिउरा खाने चलन चल्दै आएको थियो ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरूले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् ।

दहीचिउराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्य वर्द्धक मानिन्छ ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content