June 15, 2025

राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्ट १० कविताको घोषणा

राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्ट १० कविताको घोषणा

काठमाडौँ । राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्ट १० कविताको घोषणा भएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०८० मा नेपाली भाषामा उमेश पुन (काठमाडौँ) छोरी, सिमाना र देश, कृपाकरुणा पोखरेल (सुनसरी) रक्तिम कथा, जीवन आरोही (उदयपुर) प्रश्नहरूको विज्ञप्ति, तीर्थराज विश्वकर्मा (सुनसरी) कविले के सम्झियो, नवीन अभिलाषी (बाँके) भेरी अभिशप्त बगिरहेछ, प्रकाश दिप्साली राई (सुनसरी) नौरानको नाम, राधिका कल्पित (काठमाडौँ) परिचयपत्र तथा नेपाली मातृभाषा डोटेलीमा खिमानन्द जोशी (दार्चुला) मुई गोठ नाइँ भान्या हूँ, पूर्णानन्द ओझा (डोटी) सन्नीको मान्सा र खाम मगरभाषामा टङ्कबहादुर झाँक्री मगर (वैरागी समीप) हुन्के वे बड्डाका कवितालाई सर्वोत्कृष्ट घोषित गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्सवको उद्घाटन गर्दै नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न आह्वान गरेका छन् । उनले सङ्घीय, समानुपातिक, गणतान्त्रिक युग अनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व रहेक‍ो बताए ।

यसैगरी प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सम्माननीय प्रधानमन्त्री एवम् प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख संरक्षकको प्रतीक चिह्न तथा पुस्तक हस्तान्तरण गरे ।

यसैक्रममा प्रमुख अतिथि प्रधानमन्त्री दाहालले प्रज्ञा सेवा पदक शेषराज देवकोटा र सन पुजारी तथा उत्कृष्ट कर्मचारी पुरस्कार
नरेन्द्रबहादुर पछिमा थारू, रामबहादुर पहरी र जमुना कुचिकार लगायत विविध खेलकुद विजेतालाई पदक तथा प्रमाणपत्र प्रदान गरे ।

प्रज्ञा–प्रतिष्ठानका संरक्षक तथा विशिष्ट अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सूदन किरातीले नेपाली भाषा, साहित्य, संस्कृति र कलाका दृष्टिकोणले समृद्धिको जग थप बसाल्न सक्ने सम्भावना छ र यसलाई विश्वभरि पु¥याउनु पर्नेमा जोड जिए । उनले प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ प्रधान सम्पादक रहनुभएको बालपत्रिका लालपातेको विमोचन गरेका छन् ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा महोत्सवका सभाध्यक्ष राईले कुनैकुनै विषयको संरचनात्मक निर्माणपछि त्यसको निरन्तरता मात्रै हुँदैन समय समयमा त्यसमा सकारात्मक ध्वंस भएर विकास हुन्छ भन्दै एकलभाषी चरित्र आजबाट भत्काएर पूनःसंरचित गरिएको छ, यसले सकारात्मक र नवीन चेतनाको सुरुवात भएको बताएका छन् ।

यसैक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले नेपाली जनताको बहुभाषिक चरित्रअनुसार यसवर्ष नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सवले आफूलाई गौरवबोध भएको कुरा उल्लेख गर्दै शुभकामनापत्र पठाएर ऐक्यबद्धता जनाएका छन् ।

यसैगरी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले स्वागत मनतव्यका क्रममा राष्ट्रिय कविता महोत्सवको माहोल उल्लासमय भएको बताए । मनिषीहरूको सार्थक उपस्थितिले उत्साह थपेको छ उनले भने । साथै, युगचेतनामा केन्द्रित कविता देखा पर्नु सुखद उपलब्धि भएको बताए ।

यस्तै सदस्यसचिव डा. धनप्रसाद सुवेदीले समावेशी स्वरूपको राष्ट्रिय कविता महोत्सव प्रति अनेकौँ प्रश्न र जिज्ञासाबिच आकर्षक र उत्साहप्रद ढङ्गले उपस्थित भएकोले यसले नयाँ चेतनाप्रवाह गरेको बताए ।

यसैगरी प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, पद्य–काव्य विभाग प्रमुख तथा राष्ट्रिय कविता महोत्सवका संयोजक बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सवलाई समावेशी सिद्धान्तअनुरूप अपनाइएकोले यसले झन् विधागत रूपमा कवितालाई समृद्ध तुल्याएको बताए ।

यसैगरी अतिथि कविहरू नर्मदेश्वर प्रधान, रमण घिमिरे, गोपाल अश्क, रामबहादुर थापा मगर, सन्जाकुमारी दनुवार, धीरेन्द्र प्रेमर्षी, योगेन्द्र प्रधान, दिग्विजय मिश्र, केवल विनाबी, गीता कार्की, प्रगति राई, मुक्तान थेवा, प्रकाश गुरागाई, भूमिका चौधरी, हाङयुग अज्ञात, टङ्कमणि अधिकारी, सोझो गाउँले, स्वप्निल स्मृति, डा. सोमबहादुर धिमाल, शोभा सुनुवार, रचना तामाङ यात्री, छम गुरुङ र वसन्त बर्लाकोटीले कविता वाचन गरेका थिए ।

यस राष्ट्रिय कविता महोत्सवमा इमेल र प्रत्यक्ष गरी ८९२ वटा कविता प्राप्त भएका तर कतिपय कविहरूले दोहोर्‍याएर कविता पठाएकोले जसमा ६४४ वटा कवितामात्र आधिकारिक रूपमा दर्ता भएका हुन् । साथै छनोट समितिले मूल्याङ्कन गरी २५ जना कविका २५ ओटा कविताहरूलाई वाचनका लागि छनोट भएका थिए ।

सम्बन्धित खबरहरु

भर्खरै